खोटाङ । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा सांसद हर्कराज राईले सामाजिक सञ्जालबाट पोष्ट गरेको एउटा भनाईको चौतर्फी विरोध भईरहेको छ । छोटो समयमा केन्द्रीय राजनितीमा उदाएर पछिल्लो समय निकै विवादमा पर्दै आएका हर्क साम्पाङ पुन सामाजिक सञ्जालमा भ्रमित कुरा पोष्ट गरेको आधारमा विरोध भईरहेको हो । शुक्रबार बिहान हर्क साम्पाङ अ रेभुलेसन नामको फेसबुक पेज मार्फत उनले लेखेका थिए ”साकेला गाउँपालिका खोटाङको मानेभन्ज्याङ सामुदायिक भवनमा आगो लागेको कुरालाई लिएर सामाजिक भत्ता बाँडिएको छैन भन्ने बुझियो ! लु न सरकार त्यता बुझौँ र कुदौँ ! डोजर मात्रै होइन हौ काम !”
यहि पोष्टका आधारमा भ्रमको खेति नगर्नु भन्द उनको सर्वत्र विरोध भईरहेको छ भने धेरैले स्थानीय सरकारको विषयमा धेरै बाठो नबन्न सुझाव दिएका छन् । साकेलामा पनि स्थानीय सरकार छ त्यो उनिहरुको विषयको कुरा हो प्रक्रिया मिलाएर बाँड्नुहुन्छ, फेसबुकमा आफ्नो क्यूआर राखेर पैसा मागेजस्तो हैन नि जथाभावी बाँड्नु भन्ने जस्ता प्रतिक्रियाहरु आएका छन् ।

यस विषयमा साकेला गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङ राईसँग बुझ्दा प्रक्रियागत रुपमा नियमानुसार हुने सामाजिक सुरक्षा भत्ता निकासा भईसकेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो –”नागरिकको समस्याप्रति साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई स्वयम संवेदनशिल हुनुहुन्छ र हामी कर्मचारी पनि यस विषयप्रति गम्भीर छौं, नागरिकको समस्यालाई बुझेर काम गर्छौं, साम्पाङ जतिको केन्द्रीय नेताले प्रक्रिया नबुझी हचुवाको भरमा सामाजिक सञ्जालमा यसरी भ्रम छर्नु सकारात्मक होईन ।”
त्यसो त साम्पाङको स्टाटसमा प्रतिक्रिया लेख्दै चाम्लिङले यसरी टिप्पणी गर्नुभएको छ -”सामुदायिक भवनमा आगलागी भएको विषय र सामाजिक सुरक्षा भता निकासा हुने विषय फरक विषय हो । आगलागीको घटना बारे छुट्टै अनुसन्धान भईरहेको छ, त्यसबारे कानुनी निचोड प्रकृयाद्वारा हुनेनैछ । सामाजिक सुरक्षा भत्ता बाँड्ने समय ढिला भएको होईन, तेस्रो त्रैमासिक भत्ता नियमानुसार निकासा हुने समय वैशाख महिना नै हो ।
र साकेला गाउँपालिकाले लाभग्राहिको खातामा भत्ता रकम निकासा गरिसकेको छ । तपाईजतिको केन्द्रीय नेताले नबुझी सामाजिक सञ्जालमा भ्रम नफैलाउनु होला । कर्मचारीको सरुवा-बढुवा नियमित चल्ने प्रकृया हो, कहिलेकाहीँ केहिदिन ढिलोचाँडो हुन्छ, यसमा आतिहाल्नुपर्ने विषय केहि छैन । सामुदायिक भवनमा आगलागी हुँदा भत्ता निकासामा असर पर्छ भनेर पत्याउने कुरा हो र ? यतार्थ नबुझी फैलाएको भ्रमको खेति राम्रोसँग फस्टाउँदैन है । फस्टाउने भनेको त्यहि डलर हो, जुन सत्य भन्दा बढी भ्रम बिक्छ ।”
साम्पाङको स्टाटसको सर्वत्र विरोध भईरहेको छ । यतिबेला हर्क साम्पाङ खोटाङको बुईपामा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको मुर्ती उद्घाटन गर्न खोटाङ आएका छन् । यहि मौकामा समर्थकले हुँईयाको भरमा लगाएको कुरालाई यतार्थ नबुझी सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया