खोटाङ। खोटाङ जिल्लाको रावाबेँसी गाउँपालिका–४ स्थित डुम्रेधारापानीका दुई गाउँ हाल ६ दिनदेखि पूर्णरूपमा अन्धकारमा डुबेका छन्। चट्याङ र वर्षासँगै विद्युत् आपूर्ति बन्द भएपछि धारापानी र डाँडागाउँ क्षेत्रमा करिब ११० घरधुरी प्रभावित बनेका हुन्।
स्थानीय शिक्षक शेरबहादुर बस्नेतका अनुसार जेठ ३१ गते चट्याङ लागेपछि विद्युत् सेवा अवरुद्ध भएको हो। त्यही दिनदेखिको अवरुद्ध सेवा अझै सुचारु हुन सकेको छैन। अन्य क्षेत्रहरूमा जेठ १ गतेदेखि पुनः आपूर्ति सुरु भए पनि डुम्रेधारापानीमा भने लाइन सुचारु हुन सकेको छैन।
स्थानीय धारापानी माध्यमिक विद्यालयका शिक्षक बस्नेत भन्छन्, “विद्युत् आएन, के बिग्रियो भन्ने नै थाहा छैन। प्राविधिकहरूले ट्रान्सफर्मरमा समस्या देखिएको भनेका छन्।” डुम्रेधारापानी क्षेत्र दुवेकोल सामुदायिक विद्युत् वितरण प्रणालीमा पर्छ। सामुदायिकको आग्रहपछि नेपाल विद्युत् प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट प्राविधिक टोली असार ५ गते घटनास्थल पुगेको थियो। परीक्षणपछि ट्रान्सफर्मर नै बिग्रिएको पुष्टि भएको छ। यद्यपि, ट्रान्सफर्मर मर्मत कति दिनमा सकिन्छ भन्ने अझै स्पष्ट छैन।
दिक्तेल वितरण केन्द्रका प्रमुख सोवितकुमार क्षेत्रीले भने, “यो ट्रान्सफर्मर सामुदायिक विद्युत् अन्तर्गतको भएकाले मर्मतको जिम्मा उनीहरूकै हो। हाम्रो केन्द्रमा अतिरिक्त ट्रान्सफर्मर पनि छैन।” उनका अनुसार मर्मतका लागि ट्रान्सफर्मर विराटनगर पठाइएको छ र शनिबारसम्म आइपुग्ने अनुमान गरिएको छ।
सामुदायिक विद्युत् संस्थाका अध्यक्ष लीलानाथ निरौलाले भने, “हामी वितरण पक्ष मात्रै हेर्छौं। मुख्य लाइन र ट्रान्सफर्मर प्राधिकरणको हो।” तर प्राधिकरणका प्रमुख भने यस जिम्मेवारी सामुदायिककै भएको बताउँछन्।
प्राधिकरण र सामुदायिक संस्थाबीचको यिनै दोहोरो जवाफदेहिताको कारण पीडित उपभोक्ता अन्योलमा परेका छन्। स्थानीय उपभोक्ताहरू विद्युत् प्राधिकरणसँग सिधै जोडिनुपर्ने माग गर्दै आएका छन्। उनीहरूको गुनासो छ — सामुदायिक विद्युत् हुँदा समयमै मर्मत नहुने र महसुल पनि बढी तिर्नुपर्ने बाध्यता छ। हालसम्मको अवस्था हेर्दा धारापानीका बासिन्दालाई अझै केही दिन अन्धकारमै बस्नुपर्ने देखिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया