विराटनगर (सीमा बस्नेत) । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड कोशी प्रदेश कार्यालय र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको सहकार्यमा विराटनगरमा एकदिने बिमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित होटल रुविजमा बुधबार विभिन्न सरोकारवालाको सहभागितामा ‘सम्पति र दुर्घटना बिमा सम्बन्धी सचेतना कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग परिषद्का केन्द्रीय उपाध्यक्ष भिम घिमिरेले जीवन, सम्पत्ति तथा दायित्वको सम्भावित वित्तीय नोक्सानीको उचित क्षतिपूर्ति तथा सुरक्षा प्रदान गर्ने सबैभन्दा उपयुक्त उपाय बिमा भएको दाबी गर्नुभयो । व्यक्तिगत दृष्टिकोणबाट मात्र नभई व्यावसायिक एवम् सामाजिक दृष्टिकोणबाट समेत बिमाको ठुलो महत्व रहेको उपाध्यक्ष घिमिरेले जनाउनु भयो ।
प्रमुख अतिथि घिमिरेले निर्जीवन बिमाको क्षेत्रमा भन्झटरहित दाबी भुक्तानी प्रक्रिया सहितको प्रस्तुतीका लागि धन्यवाद व्यक्त गर्नु भएको थियो । बिमा कम्पनीहरु बिमा लिनका लागि निरन्तर भेटघाट गर्ने तर बिमालेख जारी गरेपछि सम्पर्क गर्न गाह्रो हुने समस्या देखिएकोले यसमा विशेष ध्यान दिन किमा कम्पनीहरुलाई आग्रह गर्नुभयो । यसका साथै नियमनकारी निकाय पनि यसै प्रदेशमा आफ्ना प्रदेश कार्यालय स्थापना गरी कार्य गरिरहेकोले यस्ता कार्यहरुमा सहज रुपमा नियमन गर्न प्रमुख अतिथि घिमिरेले सुझाव दिनु भयो ।
विशिष्ट अतिथि नेपाल बिमा प्राधिकरण प्रादेशिक कार्यालय कोशी प्रदेशका सहायक निर्देशक पुष्पा खनालले लघुनिर्जीवन बिमाको आवश्यकता सम्बन्धमा चर्चा गर्नुभयो। उहाँले प्राधिकरणको प्राथमिकता क्षेत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सहकार्य गरी कार्य गरेकोमा खुसी व्यक्त गर्नु भयो । सहायक निर्देशक खनालले महासंघमा आवद्ध सम्पूर्ण उद्योगी व्यापारीहरुलाई आफ्नो व्यापार व्यवसायको उचित मुल्याङ्कन सहितको बिमा गरी सम्भावित जोखिमका कारण भविष्यमा पर्न सक्ने आर्थिक दायित्व बिमा कम्पनीलाई हस्तान्तरण गर्न ढिला गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स मुख्य कार्यालयको तर्फबाट प्रतिनिधि राजेन्द्र पाठकले दैनिक जीवनका जोखिमहरु, जोखिम व्यवस्थापनमा बीमाको महत्वका साथै लघुबीमाको आवश्यकता र हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले प्रचलनमा ल्याएका लघुबिमा लेखको सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो। पाठकको प्रस्तुतीकरणपछि भएको छलफलका सहभागीहरुले उठाएका जिज्ञासाको जवाफ नियमनकारी निकायको तर्फबाट पुष्पा घिमिरे र अन्य विषयमा उठेका जिज्ञासाको जवाफ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका पदाधिकरीहरुले दिएका थिए ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौलाले सहज सहकार्यका लागि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स इटहरीका प्रमुख धना भट्टराईलाई धन्यवाद व्यक्त गर्दै चाँडै नै कार्यगत एकता गरेर महासंघसँग आवद्ध सम्पूर्ण व्यवसायीहरुलाई लघुबीमाको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल बिमा प्राधिकरण प्रादेशिक कार्यालय कोशीका प्रतिनिधि, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका पदाधिकारी तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका संस्थापक अध्यक्ष लवमणी राजभण्डारीलगायत महासंघसँग आवद्ध उद्योगी व्यवसायी गरी एक सय तीन जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन तथा सहजीकरण घरेलु तथा साना उद्योग महासंघ मोरङका सचिव श्यमलाल पौडेलले गर्नु भएको थियो ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बिमा प्राधिकरणबाट निर्जीवन लघुबिमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बिमा कम्पनी हो । धनगढी कैलालीमा मुख्य कार्यालय रहेको यस कम्पनीले कोशी प्रदेशको इटहरी, विराटनगर, उर्लावारी र विर्तामोडमा शाखा सञ्जाल विस्तार गरेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया