काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनको शोकमा तीन दिनसम्म पार्टीको तीनै तहका कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
बैठकले असार ५ गते बिहीबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय पनि गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकले पूर्व केन्द्रीय सदस्य शास्त्रीको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका पनि राख्ने निर्णय गरेको छ ।
शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा असार २ गते निधन भएको थियो । अर्घाखाँचीको किमडाडामा १९९३ जेठ २५ गते जन्मिएका शास्त्री पटक–पटक पार्टीको केन्द्रीय सदस्य भएका थिए । उनी ०४८ र ०५१ को आम निर्वाचनमा अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया