तुलसीपुरते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालमा प्राविधिक शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ। मङ्गलबार तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा निर्माण सुरु गरिएको सभा हलको शिलान्यास गर्दै उहाँले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले विकसित मुलुकहरूमा प्राविधिक शिक्षामा पहुँच र आकर्षण दिन प्रतिदिन बढिरहेको उल्लेख गर्दै नेपालमा पनि सोही अभ्यासलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हाल साधारण शिक्षामा बढी आकर्षण रहेको उल्लेख गर्दै प्राविधिक शिक्षामा विद्यार्थी सहभागिता २२ प्रतिशतसम्म पुर्याउन आवश्यक रहेको बताउनुभयो ।
महासचिव पोखरेलले नेपाललाई आत्मनिर्भर बनाउन सीपमूलक तथा प्राविधिक शिक्षालाई सशक्त बनाउनुपर्नेमा जोड दिँदै सरकारी, निजी तथा शैक्षिक क्षेत्रहरूबिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मेट्रो कलेजका निवर्तमान अध्यक्ष घनश्याम पाण्डेले कलेजको गुरुयोजनाअनुसार विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्न सक्ने बृहत् सभाहलको निर्माण थालिएको जानकारी गराउनुभयो । कलेज सञ्चालक समितिका अध्यक्ष टीकाराम खड्काले स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्दै कानुन, वन विज्ञान, कृषिलगायतका विभिन्न प्राविधिक विषयहरूमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया