logo

२०८३ श्रावण १ शुक्रबार

logo
  • २०८३ श्रावण १ शुक्रबार
  • अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

    775Shares
    अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

    काठमाडौं । अर्जेन्टिनाले खेलको अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। रोमाञ्चक जितसँगै अर्जेन्टिनाले विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गर्दै उपाधिका लागि स्पेनसँगको भेट पक्का गरेको हो।

    एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्डले दोस्रो हाफमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता बनाएको थियो। निर्धारित समय सकिनै लाग्दासम्म खेल आफ्नो पक्षमा राखेको इङ्ग्ल्यान्ड अन्तिम क्षणमा दबाब थेग्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो।

    साबिक च्याम्पियन अर्जेन्टिनाले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै बराबरी गोलको खोजी गरेको थियो। कप्तान लियोनल मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले लगातार अवसर सिर्जना गरे पनि इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गर्दै टोलीलाई लामो समयसम्म अग्रतामा राखेका थिए।

    खेलको ६९औँ मिनेटमा मेस्सीको सटिक पासमा निको गोन्जालेजले गरेको प्रहार पिकफोर्डले बचाएका थिए। त्यसपछि अलेक्सिस म्याक एलिस्टरका दुई प्रहारमध्ये एक उनले रोके भने अर्को पोस्टमा लागेको थियो।

    तर खेलको ८६औँ मिनेटमा एन्जो फर्नान्डेजले करिब २० गज टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले १–१ को बराबरी कायम गर्‍यो।

    त्यसपछि ९०औँ मिनेटमा म्याक एलिस्टरको अर्को प्रहार पोस्टमा लागे पनि त्यसलगत्तै मेस्सीले दिएको उत्कृष्ट क्रसलाई वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–१ को अविस्मरणीय जित दिलाए।

    यस जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान बनाएको छ। अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।



    फास्ट न्युज    
  • २०८३ असार ३२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट