logo

२०८३ श्रावण १० आईतवार

logo
  • २०८३ श्रावण १० आईतवार
  • ७३औँ जन्मजयन्तीमा सम्मान, पुरस्कार र विमर्शमार्फत सम्झिए दाहाल यज्ञनिधिको योगदान

    910Shares
    ७३औँ जन्मजयन्तीमा सम्मान, पुरस्कार र विमर्शमार्फत सम्झिए दाहाल यज्ञनिधिको योगदान

        काठमाडौं। नेपाली साहित्य, रेडियो पत्रकारिता र सामाजिक रूपान्तरणमा विशिष्ट योगदान पुर्‍याउनुभएका साहित्यकार दाहाल यज्ञनिधिको ७३औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाइएको छ। नागार्जुन वाङ्मय प्रतिष्ठानले उहाँको जन्मजयन्तीका अवसरमा ‘नागार्जुन वाङ्मय जदौ सम्मान तथा पुरस्कार–२०८३’ वितरण, रचनावाचन र व्यक्तित्व चर्चा कार्यक्रम आयोजना गर्दै यज्ञनिधिको बहुआयामिक योगदानलाई स्मरण गरेको हो।

    कार्यक्रममा साहित्यकार दाहाल यज्ञनिधिलाई केवल एक स्रष्टाका रूपमा नभई लोकतान्त्रिक साहित्यिक आन्दोलन, सामाजिक चेतना, रेडियो पत्रकारिता र सीमान्तकृत समुदायको आवाज उठाउने अभियन्ताका रूपमा स्मरण गरिएको थियो। वक्ताहरूले उहाँका सिर्जनाले समाजका यथार्थ, मानवीय संवेदना, लोकतान्त्रिक मूल्य र सामाजिक रूपान्तरणलाई सशक्त रूपमा अभिव्यक्त गरेको उल्लेख गर्दै उहाँका विचार र लेखन आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

    सो अवसरमा वरिष्ठ साहित्यकार प्रा. डा. सुधा त्रिपाठी, रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, डा. विनोद मञ्जन, डा. हरिप्रसाद सिलवाल, डा. रमेश शुभेच्छु र पवित्रा सुनार ‘सानु’लाई ‘नागार्जुन वाङ्मय जदौ सम्मान–२०८३’ प्रदान गरिएको थियो। त्यस्तै, राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार तथा प्रतिष्ठानका पूर्वअध्यक्ष प्रकाश सिलवाललाई नगद रु. ११ हजार राशिको ‘नागार्जुन जदौ पुरस्कार–२०८३’ प्रदान गरियो। पुरस्कार वरिष्ठ साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले हस्तान्तरण गर्नुभएको थियो।

    व्यक्तित्व चर्चा कार्यक्रममा डा. हरिप्रसाद सिलवालले यज्ञनिधिको निबन्धकारितामाथि विश्लेषण प्रस्तुत गर्नुभयो भने डा. रमेश शुभेच्छुकले उहाँको समग्र साहित्यिक व्यक्तित्व र योगदानबारे प्रकाश पार्नुभयो। पवित्रा सुनार ‘सानु’ले सीमान्तकृत समुदायको उत्थान र सामाजिक न्यायका पक्षमा यज्ञनिधिले खेलेको भूमिकालाई स्मरण गर्नुभयो। त्यस्तै डा. विनोद मञ्जनले पुरस्कार छनोट प्रक्रियाबारे जानकारी गराउनुभएको थियो।

    कार्यक्रममा रचनावाचन पनि आकर्षणको केन्द्र बन्यो। वरिष्ठ कवि रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ले दाहाल यज्ञनिधिप्रति समर्पित कविता प्रस्तुत गर्नुभयो भने लक्ष्मण अधिकारी, रामदेव पाण्डे, माधव घिमिरे (अटल), गङ्गा खतिवडा, अनुराधा थापा, दिनेश खरेल, कृष्णप्रसाद जस्ताघरे, अमरदीप सुनुवारलगायतका स्रष्टाले आफ्ना सिर्जना वाचन गरेका थिए। कवि पूर्णविरामको स्मृतिमा आयोजित कविता वाचन प्रतियोगितामा उत्कृष्ट बनेका प्रमोद भण्डारीलाई पनि पुरस्कृत गरिएको थियो।

    दाहाल यज्ञनिधिको साहित्यिक यात्रा निबन्ध, कविता, गीत र वैचारिक लेखनसम्म फैलिएको छ। उहाँका ‘जदौका निबन्ध’ (२०६९), ‘जदौका ३४ निबन्ध’ (२०७६), ‘खुला आकाश’ गीति एल्बम (२०७६), ‘दाहाल यज्ञनिधिका कविता’ (२०७८), ‘जदौ’ जीवनी र व्यक्तित्व केन्द्रित कृति (२०७६) तथा ‘दाहाल यज्ञनिधिको जीवनदृष्टि’ (२०८१) प्रकाशित छन्। यी कृतिमार्फत उहाँले नेपाली साहित्यमा आफ्नै मौलिक चिनारी स्थापित गर्नुभएको साहित्यकारहरूले उल्लेख गरे।

    दाहाल यज्ञनिधिकी धर्मपत्नी सुधा दाहालले उहाँको व्यक्तित्व र योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन प्रकाशन, प्रसारण तथा सम्मान–पुरस्कार वितरणको परम्परालाई निरन्तरता दिइने बताउनुभयो। प्रतिष्ठानका अध्यक्ष दील पौडेलले लोकतान्त्रिक साहित्यिक आन्दोलन, संस्कृति र सामाजिक चेतनाको विकासमा यज्ञनिधिको योगदान नेपाली साहित्यका लागि अविस्मरणीय सम्पत्ति भएको धारणा व्यक्त गर्नुभयो।

    खोटाङकोखाल्लेमा वि.सं. २०१० साउन ८ गते जन्मनुभएका दाहाल यज्ञनिधिको २०७९ साउन २५ गते निधन भएको थियो। तर उहाँका साहित्यिक कृति, वैचारिक दृष्टि र सामाजिक प्रतिबद्धता आज पनि नेपाली साहित्य र समाजका लागि प्रेरणाको स्रोतका रूपमा जीवित छन्।



    फास्ट न्युज    
  • २०८३ श्रावण ९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट