logo

२०८३ आश्विन २३ शुक्रबार

logo
  • २०८३ आश्विन २३ शुक्रबार
  • कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध

    724Shares
    कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (शुक्रबार) बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बिहीबार नै सुरु गर्ने भनिएको मतदान खराब मौसम, प्राविधिक जटिलता र मतपत्र छपाइमा भएको ढिलाइका कारण आज बिहानका लागि सारिएको हो। टाढा घर जाने प्रतिनिधिहरू मतदान गरेर दसैँ भित्र्याउन घर पुग्ने हतारोमा बिहानैदेखि लामो लाइनमा बसेका छन्।
    निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदान बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ। ७ हजारभन्दा बढी मतदाता र सयौँ उम्मेदवार भएका कारण मतपत्रको आकार ठूलो भएको र प्रमाणीकरणका लागि ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेका छन्।
    प्रतिनिधिहरूको सहजताका लागि तोकिएका मतदान केन्द्रहरू:
    राष्ट्रिय सभागृह (मतदान केन्द्र ‘क’): बागमती प्रदेशका प्रतिनिधि।

    खुलामञ्च (मतदान केन्द्र ‘ख’): कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधि।
    हिमाल हल: गण्डकी प्रदेशका प्रतिनिधि।
    तराई–मधेस हल: मधेश प्रदेशका प्रतिनिधि।
    पहाड हल: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति (विदेश) र भ्रातृ संस्थाका प्रतिनिधि।
    मोबाईल निषेध, आजको खर्च पार्टीले बेहोर्ने
    मतदान स्थलमा मोबाइल फोन वा आचारसंहिता विपरीतका सामग्री लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। मतदाता परिचयपत्र र नामावली रुजु गरेपछि मात्र भोट हाल्न पाइनेछ। महाधिवेशन एक दिन लम्बिएपछि आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन प्रतिनिधिहरूको शुक्रबारको होटल बसाइ र खाना खर्च पार्टीले नै बेहोर्ने जानकारी दिएका छन्। आज ३ बजे मतदान सकिएलगत्तै मतपेटिकाहरू सुरक्षित राखेर मतगणना प्रक्रिया सुरु गरिने निर्वाचन समितिले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट