काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ।
स्रोतका अनुसार सुर्खेतमा आयोजित पार्टीको समीक्षा कार्यक्रममा सहभागी रहेका पौडेललाई विभागको पत्रका आधारमा वीरेन्द्रनगरस्थित शुभ होटलबाट नियन्त्रणमा लिइएको थियो। त्यसपछि उनलाई रातारात स्थलमार्गबाट काठमाडौं ल्याइएको हो।
पाँच पटकसम्म अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका पौडेलमाथि सेयर कारोबार, सम्पत्तिको स्रोत र आर्थिक गतिविधिसम्बन्धी विषयमा अनुसन्धान भइरहेको बताइएको छ। अनुसन्धानको सिलसिलामा विभागले ललितपुरस्थित उनको निवासमा समेत खानतलासी गरेको स्रोतको दाबी छ।
पौडेलको नाम सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टसँग जोडिएपछि अनुसन्धान अघि बढाइएको बताइएको छ। भट्टसँग सम्बन्धित आर्थिक कारोबार र सम्पत्तिका विषयमा समेत विभागले चासो देखाएको जनाइएको छ।
अनुसन्धानका लागि नियन्त्रणमा लिइएका पौडेलसँग विभागले आवश्यक सोधपुछ र कागजात अध्ययनको प्रक्रिया अघि बढाइरहेको छ। यद्यपि यस विषयमा विभाग वा एमाले नेतृत्वले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।
देशको अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित मन्त्रालयको नेतृत्व गरिसकेका वरिष्ठ राजनीतिक नेतामाथि अनुसन्धान सुरु भएपछि घटनाक्रमले राष्ट्रिय राजनीतिमा व्यापक चासो पैदा गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया