logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • तापक्रम वृद्धिसँगै हिमपहिरोको जोखिम पनि बढ्दो

    940Shares
    तापक्रम वृद्धिसँगै हिमपहिरोको जोखिम पनि बढ्दो

    मनाङ । मनाङको गङ्गापूर्ण ताल सङ्कटमा छ । तीन वर्षअघि हिमपहिरो हुँदै आएको बाढी पहिरोले क्षति पुर्‍याएपछि ताल सङ्कटमा परेको हो । संरक्षणकर्मी टासी आर घले भन्नुहुन्छ, ‘पहिले हिमनदीबाट पग्लिएर आएको पानी तालमा जम्मा भएर फिल्टर हुन्थ्यो, तर अहिले सिधै बग्दा तलतिर फोहोर पानी बग्न थालेको छ ।’

    २०७८ सालमा मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा हिमपहिरो जाँदा झन्डै एक सय ५० याक र नाक बेपत्ता भएका स्थानीय बासिन्दा नरप्रसाद हिराचन बताउनुहुन्छ । गाउँ नै छोप्नेगरी आएको हिमपहिरोबाट बच्न भाग्ने क्रममा केही व्यक्ति घाइते पनि भए ।

    यी त प्रतिनिधि घटना हुन् । विश्वको उच्च हिमालय शृङ्खला रहेको नेपालमा हिमपहिरो जस्ता प्राकृतिक प्रकोपहरूको जोखिम उच्च छ । ठूलो मात्रामा हिउँ र बरफ पहाडको भिरालो सतहबाट तल खस्ने घटना बढिरहेकोले मानव जीवन, पूर्वाधार र पारिस्थितिक प्रणालीमा गम्भीर असर पार्न थालेको छ ।

    झन्डै चार सय जनाले ज्यान गुमाए

    सन् १९२२ देखि २०२० सम्ममा घटनाको अध्ययन प्रतिवेदनअनुसार हिमपहिरोका कारण तीन सय ७२ जनाले ज्यान गुमाएका छन् । सन् २०२० पछि अहिलेसम्म हिमपहिरोका कारण १६ जनाको ज्यान गएको र तीन जना हराइरहेका गृह मन्त्रालयको तथ्याङ्क छ ।

    ‘ग्लासिकल हाजार्ड एन्ड एभलेचेज इन हाई माउन्टेन अफ नेपाल हिमालय’ नामक अनुसन्धानमूलक आलेखमा सय वर्षमा ६० वटा ठूला हिमपहिरो रेकर्ड भएका छन् । यो आलेख तयार पार्ने कामको नेतृत्व गर्नुभएका मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि सङ्कायका डिन डा। सुदीप ठकुरी भन्नुहुन्छ, ‘यो विभिन्न निकायबाट लिएको तथ्याङ्क हो । तर यो पूर्ण तथ्याङ्क नहुन पनि सक्छ । धेरै घटनाहरू दर्ता नभएका हुन सक्छन् । ज्यान गुमाएका तीन सय ७२ मध्ये तीन सय २४ जना सगरमाथा क्षेत्र आसपासको हो । अरू हिमाली क्षेत्रमा पनि हिमपहिरोका धेरै घटना हुन सक्छन् ।’

    पछिल्ला दशकमा बढ्दै घटना

    नेपालमा हिमपहिरोको घटना र त्यसको प्रभाव वर्षेनि बढ्दो छ । विशेषगरी शरद् ऋतु र वसन्त ऋतुमा हिमपहिरोका घटनाहरू बढी हुने गर्छन् । बितेको दशकमा औसतमा वार्षिक ३०–४० वटा घटना हुने गरेको गृह मन्त्रालय विपद् पोर्टलको तथ्याङ्क छ । वर्षेनि २० देखि ४० जनाको ज्यान गइरहेको छ । ज्यान गुमाउनेमा स्थानीय बासिन्दा, पर्यटक र पर्वतारोहीहरू पर्छन् ।

    कतिपय हिमपहिरोमा एकै पटक धेरै जनाले ज्यान गुमाएको पाइन्छ । सन् २०१२ मा मनास्लु पिकमा गएको हिमपहिरोमा परी नौ जनाको ज्यान गएको थियो । त्यसको अर्को वर्ष सगरमाथामा आठ जनाले ज्यान गुमाए । २०१४ मा मनाङ र मुस्ताङका विभिन्न हिमालमा गएको हिमपहिरोमा परी ५९ जनाको ज्यान गयो ।

    सन् २०१५ मा सगरमाथाको आधार शिविरमा २३ जनाको ज्यान गयो । सन् २०१८ मा धवलागिरि हिमालमा गएको हिमपहिरोमा परी नौ जनाको ज्यान गयो । सन् २०१९ मा अन्नपूर्ण पदमार्गमा गएको हिमपहिरोमा परी आठ जनाको ज्यान गयो ।

    नेपालको सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, लाङटाङ क्षेत्र र कञ्चनजङ्घा क्षेत्र जस्ता उच्च हिमाली क्षेत्रहरूमा हिमपहिरोको जोखिम सबैभन्दा बढी छ । यी क्षेत्रहरूमा तीव्र भिरालो पहाड, भारी हिमपात र जलवायु परिवर्तनको प्रभाव जस्ता कारणहरूले गर्दा हिमपहिरोको सम्भावना बढी हुन्छ ।

    हिमपहिरोको जोखिम बढ्नुका कारण

    हिमपहिरो प्राकृतिक घटना हो । यो भइरहन्छ । तर हिमपहिरोको जोखिम बढ्नुमा भने जलवायुसँगै मानवीय कारण पनि जिम्मेवार रहेका भूगर्भविद् प्रा। नरेन्द्रराज खनाल बताउनुहुन्छ । उहाँका अनुसार हिमपहिरोका कारण यस प्रकार छन् :

    जलवायु परिवर्तन स् जलवायु परिवर्तनले हिमालय क्षेत्रमा तापक्रम बढिरहेको छ । यसले गर्दा हिमनदीहरू पग्लने क्रम तीव्र भएको छ र हिउँको स्थिरता घटेको छ । यसले हिमपहिरोको जोखिम बढाउँछ ।

    हिमपहिरोको जोखिमबारे अध्ययन गर्नुभएका मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि सङ्कायका डिन डा। सुदीप ठकुरी जलवायु परिवर्तनकै कारण हिमपहिरोका घटना बढेको भन्ने अध्ययनहरूको निष्कर्ष नभए पनि एउटा बलियो कारण भने रहेको बताउनुहुन्छ । ठकुरी भन्नुहुन्छ, ‘अध्ययन प्रतिवेदनहरू त पर्याप्त छैनन् । तर तथ्याङ्कले पछिल्ला दशकहरूमा हिमपहिरोको घटना बढेको प्रष्ट देखाउँछ ।’

    अनियन्त्रित विकास स् पर्यटन र पूर्वाधार विकासका लागि उच्च हिमाली क्षेत्रहरूमा बढ्दो मानवीय गतिविधिले प्राकृतिक वातावरणमा अवरोध पुर्‍याएको छ । यसले हिमपहिरोको जोखिम बढाउनुका साथै त्यसको प्रभाव पनि बढाएको छ ।

    भूगर्भविद् नरेन्द्र खनाल भन्नुहुन्छ, ‘पर्वतारोहणलगायतका गतिविधिले हिउँ पग्लिन वा बरफमा असन्तुलन भएर हिमपहिरोको जोखिम बढ्ने एउटा कुरा छ भने हिमालकै मुनि र नदीको किनारमा बस्ती बस्ने क्रमले हिमपहिरोबाट हुने क्षतिको जोखिम बढाएको छ ।’

    वन विनाश स् उच्च हिमाली क्षेत्रहरूमा वन क्षेत्रको विनाशले माटोको क्षय बढाएको छ र भूमिको स्थिरता घटाएको छ । यसले हिमपहिरोको जोखिम बढाउँछ । भूकम्पीय गतिविधि स् नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा पर्छ । भूकम्पले हिमाली क्षेत्रको भू–बनावटलाई अस्थिर बनाउँछ र हिमपहिरोको जोखिम बढाउँछ ।

    अनियमित मौसम स् जलवायु परिवर्तनका कारण मौसमको ढाँचामा परिवर्तन आएको छ । अत्यधिक हिमपात वा अचानक तापक्रम वृद्धि जस्ता घटनाहरूले हिमपहिरोको जोखिम बढाउँछ । जलवायु विज्ञ डा। ङमिन्द्र दाहाल केही वर्षदेखि हिमाली क्षेत्रमा मनसुनी प्रणाली बढी सक्रिय हुन थालेको र यसले हिमपहिरो, हिमताल विस्फोटलगायतका जोखिम बढाएको बताउनुहुन्छ ।

    हिमपहिरोको प्रभाव

    हिमपहिरोको प्रभाव व्यापक र बहुआयामिक हुन्छ । यसले हिमाली बस्ती मात्रै नभई निकै तलसम्म असर गर्छ । विपद् अध्ययन केन्द्र त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका निर्देशक डा। वसन्तराज अधिकारी हिमपहिरोले हिमाल हुँदै तटीय क्षेत्रसम्म प्रभाव पार्ने बताउनुहुन्छ । उहाँका अनुसार हिमपहिरोबाट हुने क्षति यस्ता छन् स्

    मानवीय क्षति स् हिमपहिरोले हरेक वर्ष धेरै मानिसको ज्यान लिन्छ र अझ धेरैलाई घाइते बनाउँछ । यसले स्थानीय समुदाय, पर्यटक र पर्वतारोहीहरूलाई प्रभावित गर्छ ।

    आर्थिक नोक्सानी स् हिमपहिरोले पूर्वाधार, घर, होटल र पर्यटन सुविधाहरूमा ठूलो क्षति पुर्‍याउँछ । यसले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ । पारिस्थितिक प्रभाव स् हिमपहिरोले प्राकृतिक वासस्थान र जैविक विविधतामा क्षति पुर्‍याउँछ । यसले वन्यजन्तु र वनस्पतिको जीवनमा गम्भीर असर पार्छ ।

    सामाजिक प्रभाव स् हिमपहिरोले समुदायलाई विस्थापित गर्न सक्छ र सामाजिक संरचनालाई भत्काउन सक्छ । यसले मानसिक स्वास्थ्य समस्या र सामुदायिक तनाव पनि निम्त्याउन सक्छ । यातायात अवरोध स् हिमपहिरोले सडक र पदमार्गलाई अवरुद्ध गर्न सक्छ जसले गर्दा आपत्कालीन सेवाहरूको पहुँच र आपूर्ति शृङ्खलामा बाधा पुग्छ ।

     



    फास्ट न्युज    
  • २०८१ आश्विन १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट