चितवन । चितवनको राप्ती नगरपालिका–१ स्थित बस्तीमा पसेर आतंक मच्चाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ।
आइतबार बिहान करिब साढे ६ बजे बस्तीमा अचानक बाघ प्रवेश गरेपछि स्थानीयवासी त्रसित बनेका थिए। बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्। उनको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।
त्यस्तै, बाघको आक्रमणबाट स्थानीय दिलाकुमारी तामाङको एउटा गाईसमेत सामान्य घाइते भएको छ।
बाघ बस्तीमा प्रवेश गरेको खबर पाएलगत्तै स्थानीय प्रशासन र निकुञ्ज प्रशासनको टोली घटनास्थल पुगेको थियो। निकुञ्जबाट हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको थियो।
टोलीले करिब चार घण्टाको प्रयासपछि बिहान साढे १० बजे बाघलाई डार्ट गरी बेहोस बनाएर नियन्त्रणमा लिएको निकुञ्ज प्रशासनले जनाएको छ।
बाघ नियन्त्रणमा लिएपछि लामो समयदेखि त्रासमा रहेका स्थानीयवासीले राहत महसुस गरेका छन्। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया