logo

२०८३ असार ३१ बुधबार

logo
  • २०८३ असार ३१ बुधबार
  • प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई परिणाममुखी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

    766Shares
    प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई परिणाममुखी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका अध्यक्षद्वयलाई सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नियुक्तिपत्र प्रदान गरेका हुन्।

    नियुक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका दुवै नियामक निकायका अध्यक्षलाई बधाइ दिँदै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिए। सिफारिस समितिले न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी रूपमा जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा अध्यक्ष पदका लागि छनोट गरेको उल्लेख गर्दै उनले सूचना तथा सञ्चार क्षेत्रको विकासमा नियामक निकायको भूमिका प्रभावकारी हुनुपर्ने बताए। उनले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

    सञ्चारमन्त्री तिमिल्सिनाले वर्तमान समयमा गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै तिनको पहिचान र नियन्त्रणका लागि प्रभावकारी पहल आवश्यक रहेको बताए। सञ्चार क्षेत्रलाई सुदृढ बनाउन काउन्सिलले सकारात्मक हस्तक्षेप गर्नुपर्नेमा उनले जोड दिए।

    उनले पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल जारी रहेको बताए। क्षमता अभाव भएका संस्थाले प्रभावकारी रूपमा काम गर्न नसक्ने उल्लेख गर्दै प्रेस काउन्सिललाई थप सक्षम, जिम्मेवार र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

    दूरसञ्चार क्षेत्रको महत्व उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले नागरिकको हित र सेवाको गुणस्तरलाई केन्द्रमा राखी अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गरी कार्यान्वयन गर्न सुझाव दिए। आवश्यक नीतिगत तथा संस्थागत सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो।

    प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष श्रेष्ठले सञ्चारमाध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन समयानुकूल संशोधन हुन नसकेको उल्लेख गर्दै त्यसलाई परिमार्जन गर्न आवश्यक रहेको बताए। उनले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन र पत्रकारितामा स्वनियमन प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने बताए। सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्दै प्रेस स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा काउन्सिल सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरे।

    नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधान गर्दै सेवा विस्तार, सुशासन र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कानुन, नीति र नियमको परिधिभित्र रहेर नागरिकमुखी, उत्तरदायी तथा प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माणका लागि सरोकारवाला निकायसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिने उनले बताए।



    फास्ट न्युज    
  • २०८३ असार २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट