काठमाडौं। सरकारले जलनका गम्भीर बिरामी मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीलाई तत्काल भारत नपठाउने निर्णय गरेको छ। उपचारमा संलग्न चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्था अझै अस्थिर रहेको निष्कर्ष निकालेपछि तत्काल स्थानान्तरण नगर्ने निर्णय गरिएको हो।
प्रारम्भिक रूपमा चिकित्सकहरूले थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजान सिफारिस गरेका थिए। त्यसअनुसार सरकारले एयर एम्बुलेन्सको व्यवस्था, भारतको विमानस्थलदेखि एम्स अस्पतालसम्मको यातायात तथा सम्पूर्ण उपचार खर्चको प्रबन्धसमेत गरिसकेको थियो।
उहाँलाई समयमै विमानस्थल पुर्याउने उद्देश्यले गृहमन्त्री सुदन गुरुङको निर्देशनमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई रातभर सडक व्यवस्थापनमा परिचालन गरिएको थियो। तर, वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत नेपालीको स्वास्थ्य अवस्था स्थिर नभएकाले अहिलेको अवस्थामा भारत लैजाँदा थप जोखिम हुन सक्ने चिकित्सकहरूको निष्कर्षपछि सरकारले तत्काल स्थानान्तरणको योजना स्थगित गरेको हो।
चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र भारत पठाउनु उपयुक्त हुने सुझाव दिएका छन्। यसबीच गृहमन्त्री सुदन गुरुङ तथा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार रातिदेखि नै वीर अस्पतालमा आवश्यक समन्वयका लागि तयारी अवस्थामा रहेका छन्। बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका गणेश नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय चिकित्सकीय टोली उहाँको उपचारमा खटिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया