logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही भू-भागमा तातो दिन रहने

    796Shares
    आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही भू-भागमा तातो दिन रहने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यस प्रणालीको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको हो ।

    विभागका अनुसार अहिले कोशी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा सामान्यदेखि आंशिक बदली रहेको छ । अन्य हिमाली तथा पहाडी क्षेत्रहरूमा आंशिक बदली रहेको र तराईका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । उच्च हिमाली क्षेत्रहरूमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

    यस्तै, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा भने तातो दिनको अवस्था कायम रहने विभागको भनाइ छ ।

    आज राति देशभर सामान्य बदली रहने अनुमान गरिएको छ । मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा कर्णाली प्रदेशका हिमाली भू-भागसहित अन्य प्रदेशका हिमाली क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    विभागले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट