रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले सार्वजनिक पोखरी अतिक्रमण गरेर बनाइएको आफ्नै परिवारको संरचना भत्काउँदै सरकारी जग्गा संरक्षण अभियान सुरु गरेकी छन् । नगरपालिकाले सार्वजनिक सडक, पोखरी, ताल, कुलो तथा सरकारी जग्गा अतिक्रमणमुक्त बनाउने अभियान चलाइरहेका बेला कार्यवाहक नगर प्रमुख हरिजनले आफ्नै घरबाट अभियानको सुरुवात गर्दै उदाहरण प्रस्तुत गरेकी हुन् ।
नगरपालिका–१ खुनगाईस्थित सार्वजनिक पोखरीको जग्गामा निर्माण गरिएको सगोलको घरअन्तर्गतको संरचना मंगलबार नगरपालिकाको टोलीले हटाएको हो । नगर प्रहरी, कर्मचारी र जेसीबीसहित पुगेको टोलीले १४ फिट लम्बाइ र ९ फिट चौडाइको पक्की संरचना भत्काएको थियो । २०७७ सालमा निर्माण गरिएको उक्त टिनको छाना भएको भवन किचन, स्टोर र पूजा कोठाका रूपमा प्रयोग हुँदै आएको बताइएको छ ।
सार्वजनिक जग्गा खाली गराउने अभियानलाई लिएर स्थानीयबाट प्रश्न उठ्न थालेपछि कार्यवाहक नगर प्रमुख हरिजनले पहिले आफ्नै परिवारको संरचना हटाएर अभियान सुरु गर्ने निर्णय लिएको बताइन् । ‘अरूलाई हटाउन आग्रह गर्नु अघि आफूबाटै सुरुवात गर्नुपर्छ भन्ने लाग्यो’, उनले भनिन् । परिवारबाट समेत सहयोग प्राप्त भएकाले सरकारी जग्गा संरक्षण अभियानलाई प्रभावकारी बनाउन सहज भएको उनको भनाइ छ ।
कार्यवाहक नगर प्रमुख हरिजनका अनुसार अब अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान थप कडाइका साथ अघि बढाइनेछ । स्वेच्छाले संरचना नहटाए कानुनी प्रक्रिया र आवश्यक परे बल प्रयोग गरेरसमेत सरकारी जग्गा खाली गराइने चेतावनी उनले दिइन् । नगरपालिकाका सूचना अधिकारी रामचन्द्र अर्यालका अनुसार विगत तीन वर्षदेखि अतिक्रमण हटाउन पटक–पटक सूचना जारी गरिए पनि अहिले कार्यान्वयन चरणमा प्रवेश गरिएको हो । एक महिनाअघि सूचना जारी गरेर अभियानलाई तीव्र बनाइएको उनले बताए ।
नगरपालिकाका अनुसार वडा नम्बर १ मा मात्रै १९ वटा सार्वजनिक पोखरी रहेका छन् । तीमध्ये केही अतिक्रमणमा परेका छन् भने हाल १० देखि १२ जनासम्मले पोखरीको जग्गा उपयोग गर्दै आएका छन् । केहीले स्वेच्छाले संरचना हटाइसकेका छन् भने अन्यले समय मागेका छन् ।
नगरपालिकाले पहिलो चरणमा घरजग्गा भएका तथा आर्थिक रूपमा सक्षम व्यक्तिले कब्जा गरेका सार्वजनिक जग्गा खाली गराउने नीति लिएको जनाएको छ ।वास्तविक सुकुम्बासी, विपन्न तथा अव्यवस्थित बसोबासीको हकमा भने सरकारले ल्याउने नीति तथा योजनाअनुसार व्यवस्थापन गरिने नगरपालिकाको भनाइ छ ।
कार्यवाहक नगर प्रमुख हरिजनले आफ्नै संरचना हटाएर अभियान सुरु गरेपछि स्थानीय तहको कदमप्रति सकारात्मक सन्देश गएको नगरपालिकाका अधिकारीहरूको भनाइ छ । नगरपालिकाका अनुसार महिलवार बजारसहित वडा नम्बर ९ र १० मा सार्वजनिक जग्गा खाली गराउने काम तीव्र पारिएको छ भने अन्य वडामा पनि क्रमशः अभियान विस्तार गरिनेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया