काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा बोल्दै मधेशका जनताको सुविधा नखोस्न आग्रह गरे।
उनले भने, ‘प्रधानमन्त्रीजी जनकपुरमा आउँदा यहाँका मानिसहरू अधिकार माग्न काठमाडौँ जानु पर्दैन भन्नुभएको थियो। म उहाँलाई काठमाडौं जानु नपर्ने धेरै परको कुरा हो। तर, वर्षौँदेखि यहाँका नागरिकहरूले व्यावहारिक रूपमा पारी गएर सामान किनमेल गर्दै गर्दा आएको सुविधा जुन प्राप्त भएको छ, तपाईँको सरकारले त्यो सुविधा खोसेको छ। कृपया त्यो सुविधा सुचारु गरिदिनुहोस्।’
पेट्रोलियम पदार्थको महँगी बढेर जनताको भान्सामा बिजोक भएको बताए। उनले थपे, ‘यो भन्दा अगाडिको सरकारले पनि लगाएको थियो। कांग्रेस सरकार हुँदा पनि। तर, यी विषय यो भन्दा अगाडि पनि गलतलाई गलत भन्दै आएको हो। म सम्झन्छु, अहिले पनि म भन्छु, त्यो गलत छ।’
सीमानामा गएर १०० रुपैयाँको सामान ल्याउँदा गृहिणी महिलाको झोला कोतल्नु उपयुक्त नभएको बताए। उनले थपे, ‘यसले त्यहाँका नागरिकहरूलाई थप दुःख दिने मात्रै हो। सरकारले दिन सक्ने भए सुख देऊ, दिन नसक्ने भए कम्तीमा गरिब, असहाय नागरिकहरूलाई दुःख नदेऊ भन्ने हो। तर यो रवैया रहिरहे हामी मुठी कसेर सडकमा आउनु पर्ने अवस्था आउँछ। त्यो बेला हामी यहाँको आवाज उठाउने यहाँको प्रतिनिधित्व गर्ने मेरो जिम्मेवारी हो।’
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया