logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • विदेश पलायन रोक्ने होइन, सीप स्वदेशमै उपयोग गर्ने नीति आवश्यक : मन्त्री खनाल

    796Shares
    विदेश पलायन रोक्ने होइन, सीप स्वदेशमै उपयोग गर्ने नीति आवश्यक : मन्त्री खनाल

    काठमाडौं ।  परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई केवल ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिले नहेरी अवसर, सिकाइ र विश्वव्यापी अनुभवको माध्यमका रूपमा बुझ्नुपर्ने बताएका छन्। विद्यार्थी बसाइँसराइ, नीति, आकांक्षा र विश्व गतिशीलतासम्बन्धी एक सेमिनारमा बोल्दै उनले प्लस–टु पछि विदेश जाने विद्यार्थीलाई रोक्ने उद्देश्यका प्रतिबन्धात्मक नीतिहरू समाधान नभएको स्पष्ट पारे।

    उनले ज्ञान आर्जनका लागि स्थान परिवर्तन गर्नु मानव सभ्यता र संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गर्दै उच्च पदस्थ व्यक्तिहरूको शैक्षिक पृष्ठभूमिले पनि वैदेशिक शिक्षाको महत्त्व देखाउने बताए। खनालले विदेश अध्ययनलाई रोक्नेभन्दा त्यहाँ आर्जित ज्ञान र सीपलाई देशको हितमा कसरी प्रयोग गर्ने भन्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

    सरकारी संयन्त्रभित्र विदेश अध्ययन रोक्ने विषयमा भइरहेका छलफलप्रति असहमति जनाउँदै उनले यस्तो प्रतिबन्धले समस्या समाधान नगर्ने बताए। बरु विदेशमा अध्ययन गरेर आएका युवालाई देशभित्र अवसर दिने र उनीहरूको सीप उपयोग गर्ने नीति आवश्यक रहेको उनको धारणा छ।

    खनालले नेपाली सार्वजनिक प्रशासनमा रहेको अहंकार र परम्परागत सोचका कारण नयाँ पुस्ताका युवालाई अवसर पाउन गाह्रो भएको उल्लेख गरे। उनले लोकसेवा पास गर्ने प्रणाली मात्र प्राथमिकतामा पर्दा नवीन सोच भएका युवाले इन्टर्नसिपसम्मको अवसर नपाउने अवस्था रहेको बताए। यसलाई सुधार गर्न आफूले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई सरकारी निकायमा इन्टर्नसिप गराउने पहल थालेको जानकारी पनि दिए।

    नेपालका विश्वविद्यालयहरूको अव्यवस्थित शैक्षिक क्यालेन्डर विद्यार्थी विदेश पलायनको मुख्य कारण भएको उनले बताए। चार वर्षको पाठ्यक्रम पूरा गर्न ६ वर्ष लाग्ने अवस्थाले विद्यार्थीलाई अस्ट्रेलिया लगायत अन्य देश रोज्न बाध्य बनाएको उनको भनाइ छ। साथै, देशमा पर्याप्त अनुसन्धान पूर्वाधार, प्रविधि र उद्योग नहुँदा उच्च दक्ष जनशक्ति फर्किन नसक्ने अवस्था रहेको पनि उनले औंल्याए।

    आर्थिक वृद्धिदर न्यून रहनु र निजी क्षेत्र संकुचित हुनुका कारण रोजगारी सिर्जना प्रभावित भएको उनले बताए।

    खनालले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै पोखरामा विश्वस्तरीय विश्वविद्यालयका क्याम्पस स्थापना गर्न सकिने धारणा राखे। उनले दक्षिण एसियाली देशका विद्यार्थीलाई नेपालको मेडिकल शिक्षामा आकर्षित गर्न र विदेशी विश्वविद्यालयलाई नेपालमा भित्र्याउन सके अनुसन्धान, नवप्रवर्तन र रोजगारीमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

    अन्त्यमा, उनले युवाहरूलाई भविष्यप्रति दीर्घकालीन सोच राख्न आग्रह गर्दै सरकारले विदेशमा रहेका नेपाली र विदेशीलाई नेपालसँग जोड्ने पुल निर्माण गर्नुपर्नेमा जोड दिए।



    फास्ट न्युज    
  • २०८३ बैशाख १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट