काठमाडौं । वीर अस्पतालको खरिद तथा भुक्तानी प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाउँदै लेखा अधिकृत वीरसिंह राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उजुरी अनुसार अस्पतालमा मेडिसिन तथा सर्जिकल सामग्री आपूर्तिकर्तालाई भुक्तानी दिँदा रकमको करिब १० प्रतिशत नगद कमिसन अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था बनाइएको आरोप छ। साथै, फार्मेसीसम्बन्धी टेन्डरमा आफ्ना निकट वा कमिसन दिने कम्पनीलाई छनोट गराउन दबाब दिने गरिएको पनि उल्लेख गरिएको छ।
करार कर्मचारीको म्याद थप गर्ने क्रममा समेत लेखा शाखाबाट राय दिँदा कर्मचारीसँग बार्गेनिङ गरिने गरेको उजुरीमा दाबी गरिएको छ। यस्तै, बिरामीलाई उपलब्ध गराइने खाना, खाजा, अक्सिजन तथा पानीको आपूर्तिमा समेत व्यापारीसँग अग्रिम कमिसन लिने प्रचलन रहेको र कमिसन नदिँदा भुक्तानी रोक्ने तथा अनावश्यक दुःख दिने गरिएको आरोप छ।
अस्पतालका एक कर्मचारीका अनुसार अत्यावश्यक प्रयोगशाला केमिकल खरिदसम्बन्धी टेन्डर प्रक्रिया अघि नबढाइँदा चैत ३ गतेदेखि केही परीक्षण सेवा प्रभावित भएका छन्, जसका कारण विपन्न बिरामी निजी अस्पताल धाउन बाध्य भएका छन्। यसबारे आन्तरिक रूपमा समेत प्रश्न उठेको छ। उजुरीमा राईले आफूलाई अख्तियारसँग जोडिएको बताउँदै कर्मचारीलाई तर्साउने र कमिसन नदिए उल्टै मुद्दा लगाइदिने धम्की दिने गरेको आरोप पनि समेटिएको छ। उनका कारण अस्पतालभित्र त्रासको वातावरण सिर्जना भएको दाबी गरिएको छ। यस प्रकरणबारे अध्ययन गरी गैरकानुनी भुक्तानी तथा रोकिएका फाइलहरूको छानबिन गर्न अख्तियारसँग माग गरिएको छ। राई अस्पतालमा सरुवा भएर आएदेखि नै विवादमा तानिँदै आएका बताइएको छ।
यसैबीच, अस्पतालका कर्मचारीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयमा समेत उजुरी दर्ता गराएका छन्। “अस्पताल सुधार अभियान–२०८२” नाममा दर्ता गरिएको उक्त उजुरीमा व्यापक अनियमितताको छानबिनको माग गरिएको छ। यस विषयमा प्रतिक्रिया लिन लेखा अधिकृत राईसँग सम्पर्क गर्ने प्रयास भए पनि सफल हुन सकेन। उनकाे धारणा प्राप्त भएलगत्तै समावेश गरिनेछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया