हलेसी तुवाचुङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको छ । ‘बदामखेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित नगरपालिकाले बदामखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको हो ।
न्यूनतम पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई दुई हजार पाँच सय रुपैयाँ र सोभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी तीन सय रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरिने नगरप्रवक्ता कमल गिरीले जानकारी दिए । उनका अनुसार यस वर्ष नगरपालिकाभित्र कुल तीन हजार १२८ मुरी बदाम उत्पादन भएको छ ।
प्रोत्साहन रकम प्राप्त गर्न किसानले निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । निवेदनका आधारमा कृषि शाखाबाट स्थलगत अनुगमन तथा मूल्याङ्कनपछि योग्य किसानलाई रकम वितरण गरिने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नम्बर ५ दुर्छिम, वडा नम्बर ७ महादेवस्थान र वडा नम्बर ८ धितुङका किसानलाई नगरपालिकाको कार्यालयमा बोलाएर प्रोत्साहन रकम वितरण गरिएको हो ।
कृषि शाखा प्रमुख रविन भट्टराईका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा दुर्छिमका १३ किसानलाई ६२ हजार २०० रुपैयाँ, महादेवस्थानका ४३ किसानलाई दुई लाख ३२ हजार ३०० रुपैयाँ र धितुङका १५८ किसानलाई सात लाख १० हजार ६०० रुपैयाँ वितरण गरिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया