काठमाडौं। सरकारले जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६ खारेज गर्ने तयारी थालेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसका लागि सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ।
समितिले हाल अध्ययन कार्य अघि बढाइरहेको र त्यसको सुझावका आधारमा नयाँ नीतिगत दिशा तय गरिने मन्त्रालयले जनाएको छ। वि.सं. २०६६ मा जारी उक्त निर्देशिकाअनुसार नेपालले जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत प्राविधिक अभ्यासार्थी कामदार पठाउँदै आएको छ। जिट्को अन्तर्गत सूचीकृत म्यानपावर कम्पनीहरूले जापानमा श्रमिक पठाउने व्यवस्था थियो।
तर, जापान सरकारले सो प्रणाली सन् २०१७ मै खारेज गरी टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम (TITP) लागू गरेको थियो। हाल जापानले TITP समेत समाप्त गरी सन् २०२७ देखि “Employment for Skill Development (ESD)” कार्यक्रम ल्याउने तयारी गरेको छ। जापानमा नयाँ कार्यक्रम लागू हुने तयारी भए पनि नेपाल अझै पुरानो निर्देशिकाअनुसार नै कामदार पठाइरहेको छ। यही कारण म्यानपावर व्यवसायीहरूले पटक–पटक पुरानो निर्देशिका खारेज गर्न माग गर्दै आएका छन्।
मन्त्रालयका एक अधिकारीका अनुसार, समितिको अध्ययनपछि निर्देशिका औपचारिक रूपमा खारेज हुने निश्चितप्रायः छ। उनका अनुसार, “हाल अध्ययन चरणमा छौं। अन्ततः निर्देशिका खारेजीतर्फ नै जानेछौं। खारेजपछि नयाँ प्रणाली कसरी अगाडि बढाउने भन्ने समितिको सुझावअनुसार निर्णय लिइनेछ,” उनले बताए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया