काठमाडौँ, १८ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले सुरु गर्नुभएको आमरण अनशन सहमति पछि आइतबार अन्त्य गरिएको छ।
नगरप्रमुख भट्टराईले बाँस तथा अन्य स्थानीय सामग्रीको उपयोग र प्रवर्द्धन गर्नुपर्ने मागसहित साउन १४ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन थालेका थिए।
आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा विभिन्न मागबारे सहमति भएपछि अनशन अन्त्य गरिएको हो।
सहमति अनुसार सहरी विकास मन्त्रालयबाट निर्माण कार्यमा बाँसको प्रयोगसम्बन्धी भवनसंहिता अन्तिम रूप दिइ कार्यान्वयन गरिनेछ। साथै, खोटाङलाई ‘बाँसको राजधानी’ का रूपमा विकास गर्दै बाँससम्बन्धी अध्ययन र प्रवर्द्धन केन्द्र स्थापना गरिनेछ।
यसका साथै, स्वदेशी काठ, बाँस र नेपालमै उत्पादित वस्तुको प्रयोगलाई प्राथमिकता दिने, विशेष गरी वन तथा वातावरण मन्त्रालयअन्तर्गतका निकायहरूले पहिलो चरणमा स्वदेशी सामग्रीको खरिद र प्रयोग बढाउने प्रतिबद्धता गरिएको छ। सरकारले स्वीकृत निर्देशिका प्रभावकारी रूपमा कार्यान्वयन गर्ने पनि सहमति पत्रमा उल्लेख छ।
त्यस्तै, बाँस र बेतसम्बन्धी अध्ययन, अनुसन्धान, परम्परागत ज्ञान, सीप र कलाको संरक्षण र प्रवर्द्धन, प्रविधि र पूर्वाधार विकास तथा सीप अभिवृद्धिमा सहयोग पुर्याउने कार्यक्रम संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरूद्वारा संचालन गरिनेछ। यी सबै बुँदाहरू समेटिएको सहमति पश्चात नगरप्रमुख भट्टराईले अनशन अन्त्य गरेका हुन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया