काठमाण्डौ । आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । बिहान सुदूरपश्चिमसहित कर्णाली प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डडेलधुरा, अछाम, हुम्लालगायत जिल्लामा बिहान वर्षा भएको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।
आज दिउँसो कोशी, बागमती प्रदेशलगायत देशका उच्च पहाडी भागका थोरै ठाउँ तथा हिमाली क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । मौसमी प्रणाली पश्चिमबाट विस्तारै पूर्वतर्फ सर्दै गरेको महाशाखाले जनाएको छ । देशका पूर्वी भागमा पनि आकाशमा बादल लागेको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँहरुमा पनि छिटपुट पानी पर्ने सम्भावना छ ।
यस वर्षको मनसुन औसत समयभन्दा झन्डै १० दिनअघि नै भारतको केरला आइपुगेको छ । केरलाबाट कोशी प्रदेश हुँदै नेपालमा मनसुन भित्रिने गर्छ । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख अर्थात् यस वर्ष जेठ ३० गते हो । तर अब बीचमा नरोकिएर आएमा यस वर्ष औसतभन्दा झन्डै डेढ हप्ताअघि नै मनसुन आइपुग्ने सम्भावना देखिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया