काठमाडौं । (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज पनि बस्ने कार्यसूची छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । बैठकमा सोमबार जस्तै सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
यसअघि हिजो सोमबार सरकारको नीति तथा कार्यक्रम व्यवहारिक,जनमुखी र प्रगतिशिल रहेको भन्दै सत्ता पक्षका सांसदहरूले समर्थन र प्रतिपक्ष सांसदले कार्यन्वयनको चुनौती देखाउँदै विपक्षमा आफ्ना धारणा राखेका थिए । आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि सोमबार प्रतिनिधिसभामा छलफलका क्रममा विगतमा जस्तै सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए । दिनभर भएका बहसमा यस्तै छनक देखिन्थ्यो ।
बैठकको अन्तिमतिर छलफलमा भाग लिनुभएका नेपाली कांग्रेसका सांसद राजु थापाले नीति तथा कार्यक्रमलाई समर्थन जनाउनुभयो । उहाँले पर्याप्त स्रोतसाधन र राजनीतिक अस्थिरताका कारण कार्यन्वयन चुनौती देखिँदै आएकाले यसमा सचेत रहनुपर्नेमा जोड दिनुभयो । थापाले नीति तथा कार्यक्रम कार्यान्वयनमा देखिने सबै प्रकारका चुनौतीको सामना गर्न राजनीतिक दलहरू एकठाउँमा उभिन आह्वान गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अमृतलाल राजवंशीले नीति तथा कार्यक्रम व्यवहारिक र जनमुखी रहेको भन्दै समर्थन जनाए । उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रूपमा रूपान्तरण गर्नु सुखद् भएको भनाइ राखे ।
यस्तै,नेकपा (एमाले)का सांसद अमृतादेवी अग्रहरीले देशको आवश्यकता समेटेर नीति तथा कार्यक्रम आएको भन्दै प्रशंसा गरिन्। एमाले सांसद वासुदेव घिमिरेले उचित समयमै नीति तथा कार्यक्रम र बजेटबीचको तालमेल सुनिश्चित गर्न पूर्वयोजना र अनुगमन प्रणालीलाई बलियो बनाउनपर्ने सुझाव दिए। उनले खाद्य वस्तुको आयातमा निर्भरता घटाउन बीउ उत्पादन प्रवर्द्धन,गुणस्तरीय मल वितरण र सिँचाइ सुविधा विस्तार,आधुनिक कृषि उपकरणमा अनुदान,सहुलियतपूर्ण कर्जालगायत कार्यक्रमले कृषि क्षेत्रमा उल्लेखय योगदान हुने विश्वास व्यक्त गरे।
नेकपा सांसद अम्बरबहादुर रायमाझीले मुलुकको अर्थतन्त्रमा रहेको शिथिलता अन्त्य गर्दै विश्वासिलो,भरपर्दो र व्यावसायिक वातावरण तयार पारी वर्तमान आर्थिक गतिविधिलाई चलायमान बनाउने नीति तथा कार्यक्रमको उद्देश्य रहेको बताए । एमाले सांसद किरणकुमार साहले देशभरमा अलपत्र र रुग्ण अवस्थामा रहेका पुलको निर्माण सम्पन्न गराउन ध्यानार्कषण गरे ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया