काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनभावना अनुसार मुलुकको समग्र संरचनामा हेरफेर गर्नुपर्ने प्रस्ताव गरेका छन् । आज नयाँ वर्षको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । करिब १४ मिनेट लामो शुभकामना सन्देशमा शाहले वर्तमान दुरावस्थाको चित्रण गर्दै आफ्नो राजनीतिक र आर्थिक मार्गचित्र पेश गर्ने प्रयास गरेका छन् । नेपाली जनतामा देशको भविष्यलाई लिएर पैदा भएको जागरुकतालाई आफूले सकारात्मक रुपमा लिएको उनको भनाइ छ ।
‘देशलाई विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्षमा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ,’ भिडिओ सन्देशमा पूर्वराजाले भनेका छन् । मुलुकका व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्याउँदै आएको उनले बताएका छन् ।
‘राष्ट्रियता र प्रजातन्त्रलाई मुल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रही आएको छ’ शाहले भनेका छन्, ‘वर्तमानमा बदलिँदो जनचाहनाको कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी सदैव स्थापित हुनुपर्छ ।’सन्देशमा थप भनिएको छ, ‘जनभावना र जनचाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ । हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं । यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यवद्धता रहने छ ।’
मुलुकको गिर्दो अर्थव्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक हुँदै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म–संस्कृति तथा जनस्तरमा बढेको निराशा र असन्तुष्टि आफ्नो चिन्ताको मुल विषय रहेको शाहले उल्लेख गरेका छन् ।
‘हाम्रो आह्वान हामी कसैको निजी स्वार्थ पूर्तिका लागि होइन । कुनै खालको सैद्धान्तिक वाद वा विचारको होइन । समग्र राष्ट्रको स्वाधिनता, समग्र जनताको सम्प्रभूता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो । आफ्ै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो । अनि आफ्नो स्वतन्त्र अस्तित्व हामी आफैंले उठाउने हो’, सन्देशमा भनिएको छ ।
पूर्वराजाले राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मुल मन्त्र बनाउनुपर्ने प्रस्ताव समेत गरेका छन् । सन्तुलित कुटनीतिक सम्वन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मुल सार हो भएको उनको भनाइ छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया