काठमाडौं । गत चैत ४ गते काठमाडौंको टोखा नगरपालिका झोरबाट ट्रकमा बरामद भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेल रहेको खुलेको छ ।
प्रहरीले दुई साताको अनुसन्धानपछि २५ करोड बराबरको अमेरिकी डलर र युरोको मालिक पौडेल भएको खुलेको हो । यसअघि पनि पटक-पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका पौडेलको परिवार नै तस्करीमा संलग्न रहेको छ ।
उनका दाजु बच्चु पौडेल र भाइ राजकुमार पौडेल पनि यसअघि ३३ किलो सुन प्रकरणमा संलग्न मानिएका थिए । पौडेललाई २०७४ सालमा सिआइबीले सुन तस्करीमा मुद्दा दर्ता गरेपछि फरार भएका थिए । उनलाई तत्कालीन गृहमन्त्री जनार्दन शर्माले जोगाएको आरोप समेत लागेको थियो । बरामदमध्ये १४ किलो टोखाबाटै भेटिएको थियो । राजकुमार २०७४ सालमा भोटेकोशी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । २०७९ मा भने उनी कांग्रेससँग पराजित भए ।
नारायण पनि माओवादीमा आबद्ध छन् भने अर्का भाइ बच्चु पौडेल कांग्रेससँग छन् । जेठो ध्रुव पौडेल २०५४ सालमा एमालेबाट फुल्पिङकट्टी गाविस अध्यक्ष भएका थिए । बच्चु पौडेल बच्चु हिमालय सिमापार व्यापार संघको पूर्व अध्यक्ष हुन् । साइलो नारायण पौडेल माओवादीमा आबद्ध छन् । पौडेलकी पत्नीको केही समयअघि क्यान्सरबाट निधन भएको थियो । रक्तचन्दन तस्करीमा संलग्न नारायण भारतमा बसेर कारोबार गर्थे भने कान्छो राजकुमार पौडेल भने माओवादीको नेतृत्वमै छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई टोखा नगरपालिका-१० बस्ने उनै नारायण पौडेल २५ करोडको मालिक भएको प्रहरीले पुष्टि गरेको छ । उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ । गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । उनी पनि भोटेकोशी वडा नम्बर १ कै बासिन्दा हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया