पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सानो देशमा छु भन्ने हिनताबोधी भावना नराख्न आग्रह गरेका छन् ।कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरुले इमानदार भएर देशका लागि काम गर्नुपर्ने बताए ।
कास्कीको ढुङ्गेपाटनमा बिहीबार आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारीपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्नुपर्ने बताएका हुन् ।
‘इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ। बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन। तपाईंहरूले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन’, कुलपति ओलीले भने, ‘तपाईंहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ। आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ। देश र समाजका लागि केही गर्नुस्। नागरिक सर्वाेच्चताको गर्व तपाईंहरूमा होस्।’
उनले भने, ‘हात्ति देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन । हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस् । साहसी हुनुस्, दुस्साहासी नहुनुस् । हामीसँग उर्बर भूमि छ । यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।’
समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया