काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बुधबार ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा पुगेका छन्।
श्रेष्ठको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो। यस क्रममा कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।
वरिष्ठ नेता श्रेष्ठको मंगलबार उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित हेलिस अस्पतालमा निधन भएको थियो। उनी नेपाली कांग्रेसका लामो समयदेखि सक्रिय नेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वका रूपमा परिचित थिए।
श्रेष्ठको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक तथा सर्वसाधारणले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया