कास्की । गण्डकी प्रदेशमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार भएको छ । एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार भएको हो । मुस्ताङ, मनाङ, बाग्लुङ, गोरखालगायत हिमाली र उच्च पहाडी क्षेत्रका किसान उच्च घनत्व प्रविधिमा आधारित स्याउखेतीमा आकर्षित हुन थालेका छन् । मुस्ताङ र मनाङ स्याउखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ ।
बाग्लुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको प्रदेशको कृषि मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिनुभयो । मन्त्रालयले स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजना र शीतोष्ण फलफूल विस्तार तथा व्यावसायीकरण आयोजनामार्फत किसानलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । मुस्ताङ र मनाङलाई मुख्य रूपमा केन्द्रित गरी स्याउखेती विस्तारको आयोजना सञ्चालन गरिएको छ । अन्य जिल्लाका उच्च पहाडी क्षेत्रका किसानले पनि पछिल्लो समय व्यावसायिक स्याउ खेती शुरू गरेका छन् ।
कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीका अनुसार लोमान्थाङ गाउँपालिकाबाहेक मुस्ताङका चार वटै गाउँपालिकामा उच्च घनत्वमा आधारित स्याउखेती विस्तार गरिएको छ ।रैथानेभन्दा उच्च घनत्वको स्याउका बोट होचो र हाँगाबिगा कम हुने हुँदा बगैँचा व्यवस्थापन गर्न सहज हुने कृषि अधिकृत नेपालीले बताउनुभयो । छिटो र धेरै उत्पादन दिने भएपछि यो प्रविधिको स्याउखेतीतर्फ किसान आकर्षित भएका हुन् । उच्च घनत्वको स्याउखेतीका लागि एउटै बिरुवाको एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्म पर्छ ।
बगैँचा व्यवस्थापन पनि खर्चिलो भएकाले सरकारले थप अनुदान सहुलियत दिनुपर्ने किसानको माग छ । उच्च घनत्व प्रविधिको स्याउखेती एक दशकअघि मात्र नेपाल भित्रिएको थियो । गण्डकी प्रदेशमा शुरूमा मनाङबाट उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती शुरू गरिएको थियो । यो स्याउका बिरुवा इटालीदेखि नेपाल भित्र्याइएको थियो । थोरै जग्गामा पनि धेरै बिरुवा लगाउन सकिने तथा छिटो र धैरै फल दिने हुँदा यो स्याउखेती फस्टाउँदै गएको हो । गाला, फुजी, गोल्डेनलगायत जातका स्याउखेती हुँदै आएको छ । एउटा स्याउको बोटले २५ वर्षसम्म उत्पादन दिने कृषि अधिकृत नेपालीले बताउनुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया