खोटाङ । खोटाङको हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम अघि बढाइएको छ । रैथाने बाली संरक्षण तथा प्रवर्द्धन अभियानमा लागेको हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहनबापतको रकम दिने भएको छ ।
नगरसभाबाट पारित बदाम प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई उनीहरूको गाउँमै लगेर प्रोत्साहनबापतको रकम वितरण सुरू गरेको हो । पहिलो चरणमा नगरपालिकाको वडा नं २ डिकुवा र वडा नं ८ धितुङका किसानलाई प्रोत्साहन रकम वितरण गरिएको नगरपालिका कृषि शाखाले सञ्चारमाध्यमलाई जानकारी दिएको छ । कृषि शाखाका कर्मचारीका अनुसार धितुङका ९८ जना किसानलाई तीन लाख ९४ हजार रुपियाँ र डिकुवाका छ जना किसानलाई २१ हजार रुपियाँ प्रोत्साहनबापतको रकम वितरण गरि सकिएको छ ।
यस वर्ष धितुङका ९८ जना किसानले नौ सय ९७ मुरी र डिकुवाका छ जना किसानले ५० मुरी बदाम उत्पादन गरेका छन् । एघार वडा रहेको उक्त नगरपालिकामा यो वर्ष दुई हजार मुरी बदाम उत्पादन भएको कृषि शाखाको अनुमान रहेको छ । रैथाने बाली संरक्षण तथा प्रवर्द्धन गर्ने नगरपालिकाको नीतिअनुसार बदाम उत्पादनमा वृद्धि गर्न किसानलाई प्रोत्साहन रकम वितरण सुरू गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, ७ महादेवस्थान, ५ दुर्छिम, ११ राजापानीमा प्रोत्साहन रकम वितरण गर्न बाँकी रहेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्र उत्पादन हुने बदाम खेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया