काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे फेरि उद्योगको लाइन काट्ने चेतावनी दिएका छन् । बुधबार प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक घिसिङले हाललाई लाइन जोडिए पनि बक्यौता नतिरे फेरि काट्ने बताएका हुन् । उनले विद्युत् बक्यौता नउठे प्रक्रिया अनुसार अघि बढ्ने बताए । ‘अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ,’ कार्यकारी निर्देशक घिसिङले भने ।
आफूहरुले बनाएको बिल सही भएको भन्दै उनले १५ दिनभित्रै त्यो अनुसार तिर्नै पर्ने बताए । प्राधिकरणले बनाएको बिलमा राज्यका सबै निकायले सही भनेको पनि उनले बताए ।कार्यकारी निर्देशक घिसिङले सरकारबाट पनि १५ दिनभित्र बक्यौता तिर्नेगरी हाललाई लाइन जोड्ने निर्देशन आएको खुलासा गरे । यसअघि किस्तामा रकम बुझाउँदा पनि लाइन जोड्ने गरेको भन्दै उनले करिब २८ वटा उद्योगले किस्ता पनि नबुझाएकाले लाइन काटेको स्पष्ट पारे ।
कतिपय उद्योगले पूर्ण क्षमतामा नचलाउने र उत्पादित समान खपत नभएसम्म विद्युत जोड्न चासो नदेखाउने गरेको आरोप पनि कुलमानले लगाए । यसरी सधैँ ब्ल्याकमेलिङ गरेर रकम नतिरी उद्योग चलाउन सम्भव नहुने उनले चेतावनी दिए ।‘१७/१८ घण्टा लोडसेडिङका बेला सर्वसाधारणलाई अन्धकारमा राखेर प्रयोग गरिएको बिजुलीको बक्यौता अहिले आएर तिर्न सक्दिन भन्नु जायज हैन,’ कुलमानले भने । हाल बक्यौता नबुझाउने उद्योगको संख्या १० प्रतिशत पनि नभएको भन्दै उनले अधिकांश प्रक्रियामा समावेश भएको समेत जनाए ।
आम नागरिकको १ हजार रुपैयाँ पनि तिर्न नसक्दा लाइन काट्ने र उद्योगको अर्बौँ बक्यौता राख्न नसकिने पनि कुलमानले स्पष्ट पारे । यसैगरी रकम नउठाउने प्रवृति रहे प्राधिकरण आर्थिक रुपमा समस्यामा पर्ने पनि उनले स्पष्ट पारे ।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd