तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शैयामा विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरिएको छ । अस्पतालको स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्यबमोजिम डिपीआर तयार गरिएको हो ।
सहरी विकास मन्त्रालय भवन विभागको सहयोगमा तीन सय शैया क्षमताको डिपीआर तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बुझाइएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो ।
देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुरुप भारत सरकारको सहयोगमा तीन सय शैया क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको डा. श्रेष्ठले बताए । डिपीआर तयार नभएकाले थप काम अगाडि बढ्न नसकेको अवस्थामा अब डिपीआर तयार भएकाले यसको निर्माणको काम अगाडि बढ्ने श्रेष्ठले विश्वास व्यक्त गरे ।
श्रेष्ठका अनुसार अस्पताललाई एक हजार शैयाको बनाउने लक्ष्य छ । अब मन्त्रालयको सहयोगमा अस्पताल निर्माणका लागि स्रोत जुटाउने अपेक्षा गरिएको डा. श्रेष्ठले बताए । यसका लागि परराष्ट्र र अर्थ मन्त्रालयमार्फत् भारतीय दूतावाससमक्ष प्रस्ताव अघि बढाइएको छ । गत साउन २१ गते तनहुँ आएका बेला मन्त्री पौडेलले अस्पतालको निरीक्षण गर्दै उपचार केन्द्रलाई विशिष्टिकृत अस्पतालको रूपमा विकास गर्नुपर्ने बताएका थिए ।
पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रश्वास सम्बन्धी देशकै एकमात्र विशिष्टिकृत अस्पतालमा हाल त्यहाँ पचास जनरल वार्डमात्र छन् । जसका कारण श्वासप्रश्वासका बिरामीको उपचार हुन सकेको छैन । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले विसं २०६७ सालमा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ सालमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा ७४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । ५० शैयाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ ।
जनतालाई सहज रूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार डा. श्रेष्ठले बताए । अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ ।
त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर अप्रेसनलगायतका सेवा दिइरहेको छ । अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक २५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०/५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd