खोटाङ । श्रम संस्कृति पार्टीको खोटाङ जिल्ला प्रदेश क्षेत्र (ख) कमिटीले दिप्रुङको दिप्लुङ झरनादेखि उत्तरतर्फ साल्पासिलिछो जाने पैदलमार्ग र दक्षिणतर्फ जाने यलम्बर राजमार्ग अभियानलाई सफल बनाउन पहल गर्ने निर्णय गरेको छ ।
श्रम संस्कृति पार्टीका प्रदेश सदस्य तथा खोटाङ जिल्ला प्रदेश क्षेत्र (ख) का इन्चार्ज विष्णुराज राईको अध्यक्षतामा बसेको प्रदेश क्षेत्र (ख) को बैठकले उक्त अभियानलाई सफल बनाउन पार्टीका तर्फबाट आवश्यक पहल गर्ने निर्णय गरेको हो ।
बैठकको पहिलो निर्णयका रूपमा दिप्लुङ झरनादेखि उत्तरतर्फ साल्पासिलिछो जाने पैदलमार्ग तथा दक्षिणतर्फ खुवालुङ सम्म जाने यलम्बर राजमार्ग अभियानलाई सफल बनाउन पहल गर्ने निर्णय गरिएको राईले बताए ।
राईका अनुसार यी मार्गको विकास र प्रवर्द्धनले खोटाङको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ । दिप्लुङ झरना, साल्पासिलिछोलगायतका पर्यटकीय क्षेत्रलाई सडक तथा पदमार्गमार्फत जोड्न सके जिल्लामा पर्यटकको आवागमन बढ्ने र त्यसबाट स्थानीय अर्थतन्त्र चलायमान हुने उनले बताए ।
“दिप्लुङ झरनादेखि उत्तरतर्फ साल्पासिलिछो जाने पैदलमार्ग र दक्षिणतर्फको यलम्बर राजमार्ग अभियानलाई सफल बनाउन पार्टीले पहल गर्नेछ,” राईले भने, “यसबाट जिल्लाको पर्यटन प्रवर्द्धन हुँदै भविष्यमा स्थानीय जनतालाई ठूलो आर्थिक टेवा पुग्ने विश्वास छ।”
बैठकले प्रदेश क्षेत्र (ख) मा पार्टी संगठनलाई थप विस्तार तथा सुदृढ बनाउने, स्थानीय जनताका समस्या र विकास निर्माणका विषयलाई प्राथमिकताका साथ उठाउने तथा जनतासँग प्रत्यक्ष जोडिएर पार्टीका गतिविधि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । यसै गरी बैठकले प्रदेश क्षेत्र (ख) को पार्टी कार्यलय खोटेहाङको इन्द्रेणीपोखरीमा राख्ने निर्णय गरेको छ।
प्रतिक्रिया