logo

२०८३ भाद्र १२ शुक्रबार

logo
  • २०८३ भाद्र १२ शुक्रबार
  • जनैपूर्णिमामा देशभरका मठमन्दिर र तीर्थस्थलमा भक्तजनको भीड

    712Shares
    जनैपूर्णिमामा देशभरका मठमन्दिर र तीर्थस्थलमा भक्तजनको भीड

    काठमाडौं । जनैपूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धन पर्वका अवसरमा शुक्रबार बिहानैदेखि देशभरका धार्मिकस्थलमा भक्तजनको भीड लागेको छ। वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, पोखरी तथा कुण्डमा स्नान गरी नयाँ जनै धारण गर्ने र गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने क्रम जारी छ।

    काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकसहित उपत्यकाका विभिन्न मठमन्दिर तथा धार्मिकस्थलमा बिहानैदेखि जनै फेर्न र डोरो बाँध्न पुग्ने भक्तजनको चहलपहल बढेको छ। देशका अन्य धार्मिक तथा तीर्थस्थलमा पनि जनैपूर्णिमाका अवसरमा विशेष पूजा तथा धार्मिक गतिविधि भइरहेका छन्।

    जनैपूर्णिमाका दिन ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले विधिपूर्वक नयाँ यज्ञोपवीत अर्थात् जनै धारण गर्ने परम्परा छ। स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी मन्त्रिएको नयाँ जनै लगाउने गरिन्छ। आठ ऋषिको पूजा तथा तर्पण गरिने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ।

    यस्तै, जप, तप तथा पूजाबाट मन्त्रिएको रक्षासूत्र ब्राह्मण पुरोहितले वैदिक मन्त्रोच्चारणसहित यजमानको दाहिने नाडीमा बाँधिदिने चलन छ। धार्मिक विश्वासअनुसार रक्षासूत्रले नकारात्मक तत्वबाट सुरक्षा प्रदान गर्ने मान्यता छ।

    जनैपूर्णिमासँग जोडिएको अर्को महत्वपूर्ण पक्ष क्वाँटी हो। एघार प्रकारका गेडागुडी भिजाएर टुसा उमारेर तयार पारिएको क्वाँटी आज विशेष रूपमा खाने गरिन्छ। वर्षायाममा शरीरमा लागेको चिसो हटाउन तथा स्वास्थ्यका लागि लाभदायक हुने विश्वासका कारण जनैपूर्णिमामा क्वाँटी खाने परम्परा रहँदै आएको छ।

    तराई क्षेत्रमा भने आज दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन मनाउने गर्छन्। दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुख–समृद्धिको कामना गर्दै राखी बाँध्ने तथा दाजुभाइले उपहार वा दक्षिणा दिने परम्परा छ। पछिल्लो समय यो चलन पहाडी क्षेत्रमा समेत विस्तार हुँदै गएको छ।

    जनैपूर्णिमाका अवसरमा काठमाडौंको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधामका धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा विशेष धार्मिक गतिविधि तथा मेला लाग्ने गर्छ।

    यस वर्ष पनि जनै फेर्ने, रक्षासूत्र बाँध्ने, ऋषितर्पण गर्ने, राखी बाँध्ने र क्वाँटी खाने परम्परासहित देशभर जनैपूर्णिमा मनाइँदैछ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट