काठमाण्डाै – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली प्रहार गर्ने एक संदिग्ध व्यक्ति मारिएका छन् । शनिबार साँझ भएको उक्त घटनामा एक सर्वसाधारण समेत घाइते भएका छन् । अमेरिकी गुप्तचर निकायका सुरक्षाकर्मीका अनुसार साँझ ६ बजेपछि १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै एक व्यक्तिले अचानक आफ्नो झोलाबाट बन्दुक निकालेर गोली चलाउन सुरु गरेका थिए । ह्वाइट हाउसको सुरक्षामा खटिएका एजेन्टले तत्कालै जवाफी फायर गर्दा संदिग्ध बन्दुकधारीलाई गोली लागेको थियो । गम्भीर घाइते अवस्थामा स्थानीय अस्पताल पुर्याइएका ती संदिग्धलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
गोलाबारीका क्रममा त्यहाँ उपस्थित एक सर्वसाधारणलाई पनि गोली लागेको अधिकारीले पुष्टि गरेका छन् । यद्यपि, सुरक्षामा खटिएका कुनै पनि अधिकारी घाइते भएका छैनन् । घटनाको समयमा अमेरिकी राष्ट्रपति ह्वाइट हाउसमै उपस्थित भए तापनि उनी पूर्ण रूपमा सुरक्षित रहेको र कुनै पनि सुरक्षा कारबाही वा सञ्चालन प्रभावित नभएको सेक्रेट सर्भिसले जनाएको छ ।
गोली चल्न थालेपछि ह्वाइट हाउस क्षेत्रमा एकाएक आतंक फैलिएको थियो । ह्वाइट हाउसको उत्तरी चौरबाट प्रत्यक्ष प्रसारणको तयारी गरिरहेकी अमेरिकी सञ्चार माध्यम एबीसी न्युजकी पत्रकार सेलिना वाङले गोलीको आवाज सुनेपछि ज्यान जोगाउन झुकेको भिडियो सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै आफूलाई तत्काल ‘प्रेस ब्रिफिङ हल’ तर्फ दौडिन निर्देशन दिइएको उल्लेख गरेकी छिन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया