काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको नतिजाले दुई दलीय वकालतको खण्डन गरेको निष्कर्ष निकालेको छ ।
साथै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उपनिर्वाचनको नतिजालाई पार्टीका नेता–कार्यकर्ता अब जनतासँगै फर्कनुपर्छ भन्ने सन्देशका रुपमा लिनुपर्ने पनि माओवादीको निचोड छ ।
त्यस्तै बैठकले केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने गरी मिति तय गरेको छ । यसअघि पुस २ गतेदेखि सुरू हुने भनिएको बैठक खबरदारी सभा र पालीका सम्मेलन मंसिर मसान्तभित्र सम्पन्न हुन नसकेकाले केन्द्रीय समिति बैठक पुस २१ गतेदेखि बस्नेगरी तय भएको प्रवक्ता सापकोटाले बताए ।
माओवादी केन्द्रले विद्युत प्राधिकरणमा सरकारले गरिहेको हस्तक्षेपको विरोध गरेको छ । ‘जसरी प्राधिकरणले महसुस उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त बिरोध हुनेछ,’प्रवक्ता सापकाटोले भने, ‘सरकारले बिचौलिया र भ्रष्टाचारीहरुलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रुपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ ।’
आगामी स्थायी समिति र केन्द्रीय समिति बैठकमा विहंगम छलफल गरेर कार्य क्रमिकरुपमा नै अघि बढ्ने उनले जानकारी दिए।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd