काठमाडौं, इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न नेपालबाट एक हजार ४६४ जना सहायक कामदार माग गरिएको छ। वैदेशिक रोजगार विभागले मंगलबार भदौ २३ गते सूचना जारी गर्दै जीटूजी प्रक्रियामार्फत इजरायलमा कामदार पठाउन आवेदन खुलाएको हो।
माग गरिएका कामदारमध्ये एक हजार १३२ जना महिला र ३३२ जना पुरुष छन्। इजरायल जाने सहायक कामदारको मासिक तलब ६ हजार ४४३.८५ एनआईएस अर्थात् करिब ३ लाख २३ हजार रुपैयाँ हुने विभागले जनाएको छ।
कामदारले अतिरिक्त समयबाहेक प्रतिहप्ता ४२ घण्टा काम गर्नुपर्नेछ। इजरायल पुगेपछि खानाको खर्च भने कामदार आफैँले व्यहोर्नुपर्नेछ। आवासको व्यवस्था रोजगारदाताले विदेशी कामदारसम्बन्धी नियमअनुसार गर्ने भए पनि त्यसको खर्चसमेत कामदारकै हुने विभागले जनाएको छ।
करार अवधि थप भएमा कामदारले अधिकतम पाँच वर्षसम्म इजरायलमा काम गर्न सक्ने सूचनामा उल्लेख छ।
इच्छुक नेपाली नागरिकले विभागको वेब पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदनका लागि २५ वर्ष उमेर पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन दिने म्याद असोज २६ गतेसम्म तोकिएको छ।
आवेदकको उचाइ कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ किलोग्राम हुनुपर्नेछ। शैक्षिक योग्यताका हकमा कम्तीमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्नेछ।
त्यस्तै, कक्षा १२ वा सोसरह उत्तीर्ण गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्।
इजरायलमा दीर्घकालीन स्याहार आवश्यक पर्ने गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको हेरचाहका लागि यी सहायक कामदार छनोट गरिने विभागले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया