logo

२०८३ भाद्र १९ शुक्रबार

logo
  • २०८३ भाद्र १९ शुक्रबार
  • विपद् र चाडपर्वमा उपभोक्ता ठग्ने व्यवसायीमाथि सरकारको निगरानी, १६ टोली परिचालन

    760Shares
    विपद् र चाडपर्वमा उपभोक्ता ठग्ने व्यवसायीमाथि सरकारको निगरानी, १६ टोली परिचालन

    काठमाडौं । विपद्का कारण बजार आपूर्ति प्रभावित भएको र चाडपर्व नजिकिँदै गएको मौका छोपेर उपभोक्ताबाट मनपरी मूल्य असुल्ने व्यवसायीमाथि सरकारले निगरानी बढाएको छ। कृत्रिम रूपमा मूल्य बढाउने, सामान लुकाएर अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने प्रवृत्ति नियन्त्रण गर्न १६ वटा बजार अनुगमन टोली परिचालन गरिएको हो।

    विपद्का बेला बजारमा सहज आपूर्ति कायम गर्नुका साथै चाडपर्वमा बढ्ने मागका कारण उपभोक्तामाथि अतिरिक्त आर्थिक भार नपरोस् भन्ने उद्देश्यले अनुगमन तीव्र पारिएको सरकारले जनाएको छ।

    सोमबार उद्योगमन्त्री गौरीकुमारी यादवले ठूला गोदामदेखि खुद्रा पसलसम्म पुगेर प्रभावकारी अनुगमन गर्न टोलीलाई निर्देशन दिएकी छन्। उनले विपद् र चाडपर्वलाई व्यवसायीले अनुचित नाफा कमाउने अवसरका रूपमा प्रयोग गर्न नपाउने स्पष्ट पारेकी छन्।

    मन्त्री यादवले बजारमा कृत्रिम मूल्यवृद्धि, कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलबाड गर्ने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने बताइन्। अनुगमनका क्रममा उपभोक्ता ठगी वा अत्यधिक मूल्य असुली गरेको भेटिएमा तत्काल कानुनी प्रक्रिया अघि बढाउन उनले निर्देशन दिएकी छन्।

    उनले व्यवसायीको राजनीतिक पहुँच वा कुनै दबाबका आधारमा कारबाही नरोक्न समेत अनुगमन टोलीलाई निर्देशन दिएकी छन्। बजार अनुगमन केवल औपचारिकतामा सीमित नराखी वास्तविक समस्या पहिचान गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको जोड छ।

    सरकारको निगरानी खाद्यान्नमा मात्र सीमित हुने छैन। दैनिक उपभोग्य वस्तुको मूल्य, मौज्दात, आपूर्ति र बिक्री वितरण लगायतका विषयमा समेत टोलीले अनुगमन गर्नेछ।

    विपद्को अवस्था र चाडपर्वको बढ्दो मागका बीच बजारमा मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर सरकारले अनुगमनलाई प्राथमिकता दिएको हो। मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले अनुगमनका क्रममा जनशक्तिको अभाव हुन नदिने बताएका छन्।

    सरकारले विगतमा हुने गरेका अनुगमनका कमजोरी दोहोरिन नदिन कर्मचारीलाई सचेत गराउँदै बजारमा अनुचित मूल्यवृद्धि रोक्ने र उपभोक्ताको हित संरक्षण गर्ने अभियानलाई प्रभावकारी बनाउने जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट