लेखनाथ (कास्की): पर्यटकीय फेवातालमा डुङ्गा सञ्चालन गर्न पोखरा–२२ पुम्दीभुम्दीका ५५ वर्षीय वुद्धिबहादुर परियार दिनहुँ एक सय रुपैयाँ बसभाडा खर्चेर घरबाट फेवाताल आवतजावत गर्नुहुन्छ । उहाँको आफ्नै डुङ्गा छैन, अरुकै डुङ्गा चलाउनुहुन्छ ।
फेवातालमा पर्यटकको सङ्ख्या घटेकै कारण तीन महिनायता उहाँको दैनिक आम्दानी एक सय पचास रुपैयाँ मात्र छ । वर्खामा कुनै दिन खाली हात घर फर्कनुपर्ने अवस्था छ । जेठ महिनादेखि फेवातालमा दैनिक मुस्किलले २० देखि ३० वटा डुङ्गा बाराही घाटबाट तालबाराही मन्दिर पुग्छन् भने दुई–तीन वटा ताल घुम्न जाने व्यक्तिले लैजाने गर्छन् ।
“कुनै दिन घर पुग्ने बस भाडा साथीहरुसँग मागेर जानुपर्ने अवस्था छ”, परियारले भन्नुभयो, “फेवातालमा डुङ्गा चलाएको बीसौँ वर्षभयो । यस्तो अवस्था कुनै वर्ष पनि भएको थिएन ।” तीन महिनादेखि खाजा खाने पैसा बचत नभएको उहाँको भनाइ छ । फेवातालका विभिन्न आठ घाटमा सात सय ६७ डुङ्गा सञ्चालनमा रहेकामध्ये सबैभन्दा धेरै बाराही घाटमा ३ सय ५६ डुङ्गा सञ्चालित छन् । अरुको डुङ्गा चलाएबापत चालकले एक सय ५० देखि एक सय ७० रुपैयाँ मात्र पाउने गर्छन् । ताल वाराही मन्दिरसम्म डुङ्गा पु¥याएर ल्याएको एक सय ५० रुपैयाँ मात्र चालकहरुले पाउने गर्छन् ।
दाङ जिल्लाबाट आएर पोखराको फेवातालमा डुङ्गा चलाउँदै गर्नुभएका कालीचरण चौधरीको पीडा पनि परियारकै जस्तै छ । पाँच वर्षदेखि पोखराको लेकसाइटमा कोठा भाडामा लिएर श्रीमती र दुई छोराछोरी पाल्दै आएका चौधरीलाई दैनिक खर्च चलाउन मुस्किल परेको छ ।
“कोठाभाडासहित मासिक खर्च २५ हजार रुपैयाँ छ तर आन्दानी तीन हजार छ, पर्यटकको सिजनमा कमाएको पैसा र श्रीमतीले बिहानमा कमाएको पैसालै तीन महिनायता खर्च धानिएको छ, अब एक महिनापछि लाग्ने पर्यटन सिजनमा आन्दानी हुन्छ की भन्ने आशा छ”, चौधरीले भन्नुभयो, “छोराछोरीलाई पढाउन पनि मुस्किल भयो ।”
फेवा डुङ्गा व्यवसायी सङ्गठन बैदामका कार्यालय सचिव नरबहादुर श्रेष्ठले तीन महिना यता फेवातालमा आउने पर्यटकको सङ्ख्या ८० प्रतिशतले घटेकै कारण डुङ्गा व्यवसायमा यस्तो समस्या आएको जानकारी दिनुभयो । “यी २० प्रतिशत पनि आन्तरिक र भारतीय पर्यटक हुन्”, उहाँले भन्नुभयो, “वर्षाद्को समयमा पोखरा आउन जोखिम छ, बर्खा र आर्थिक मन्दीको असर पनि परेको छ ।”
डुङ्गा व्यवसायी सम्मर नेपालीले तीन सय ५६ डुङ्गा रहेको बाराही घाटमा यतिबेला पाँच दिनमा मात्र एउटा डुङ्गाको पालो आउने गरेको उल्लेख गर्दै यस्तो अवस्थाले डुङ्गा चालक भोकभोकै हिँड्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो ।
“लामो समय यही पेसामा रहेकाले पेसा परिवर्तन गर्न मन पनि लागेन, आम्दानी पनि खासै छैन”, उहाँले भन्नुभयो–“कोरोना महामारीले पोखराको पर्यटन व्यवसायमा समस्या ल्याएको थियो, त्योभन्दा बढी यतिबेला आर्थिक मन्दीले पारेको छ ।” स्थानीयलाई भन्दा बाहिरबाट आएर डुङ्गा चलाउने चालकलाई दैनिकी चलाउने कठिनाइ भएको उहाँको भनाइ छ ।
चाडपर्वको आगमनसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुने आशामा डुङ्गा व्यवसायी छन् । फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले सडक यातायातको जोखिमता, बर्खा, आर्थिक मन्दीजस्ता कारणले व्यवसायमा समस्या आएको बताउनुभयो । फेवातालको मध्यभागमा अवस्थित तालबाराही मन्दिरमा पर्यटक पु¥याएबापत प्रतिव्यक्ति एक सय रुपैयाँ र ताल घुमाएबापत एक घण्टाको नौ सय रुपैयाँ व्यवसायीले लिने गरेका छन् ।
फेवातालका बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा सात सय ६७ डुङ्गा सञ्चालनमा छन् । ती घाटमा चार सय १० चालक रहेको र तीमध्ये २५ महिला रहेको उहाँले जानकारी दिनुभयो । फेवातालमा वर्र्षौदेखि डुङ्गा सञ्चालन हुने गरेको भए पनि संस्थागत र व्यावसायिक रुपमा भने २०५२ सालदेखि सञ्चालन हुँदै आएको अध्यक्ष गिरीको भनाइ छ ।