काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले एन्टीकरप्सन नेटवर्कका तर्फबाट सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेको समाचारलाई लिएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आपत्ति जनाएका छन् ।
खरेलले आफूविरुद्ध एक टीभीमार्फत भ्रामक सूचना सम्प्रेषण गराइरहेको भन्दै कुलमानले आफ्नो चरित्रहत्या गरेको आरोप लगाएका छन् । खरेलले लगाएको लाञ्छना कसैको उक्साहटमा भएको उनको दाबी छ ।
विज्ञप्ति नै निकालेर घिसिङले भनेका छन्, ‘सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिका काम कारबाही सार्वजनिक चासोका विषय हुन्छ र त्यस्ता व्यक्तिहरुलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरु जहिले पनि निगरानीमा हुन्छन् । आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक सम्बन्धमा म अनभिज्ञ छैन । उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा खरेलबाट निहित स्वार्थका साथ यस्ता कामहरु भइरहेका थिए र छन् ।’
‘अंशबन्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन–कानूनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय इमानदारीपूर्वक सञ्चालन गरिरहेका छन् । मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहन्छु । यदि मैले त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने नै छन्’, विज्ञप्तिमा भनिएको छ ।
खरेलले लगाएको आरोपको भ्रममा नपर्न पनि उनले अपिल गरेका छन् । प्राधिकरणले हासिल गरेका प्रगतिबाट अत्तालिएको केही स्वार्थ समूह ९जो पहिलेबाटै सक्रिय थियो० र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था आफूलाई कमजोर बनाउन लागिपरेको घिसिङले बताएका छन् । उनले विद्युत प्राधिकरणको हरेक कामकारबाही पारदर्शी रुपमा भइरहेको र अझै पारदर्शी हुने बताएका छन् ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd