काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान अवतरणका क्रममा रनवेबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। दुर्घटनामा पाँचजना घाइते भएका छन्।
पोर्टो रिकोको सान जुआनस्थित लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७६७–३०० कार्गो विमान स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे मियामीमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको थियो।
रनवेबाट बाहिरिएपछि विमानले केही सवारीसाधनलाई ठक्कर दिएको र त्यसपछि विमानमा भीषण आगलागी भएको बताइएको छ। दुर्घटनापछि विमानको अगाडिको भाग धसिने गरी रोकिएको थियो।
विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिरिएको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनालगत्तै ठूलो संख्यामा उद्धारकर्मी तथा अग्निनियन्त्रक परिचालन गरिएको थियो।
आगो नियन्त्रण तथा उद्धारका लागि करिब २०० जना अग्निनियन्त्रक घटनास्थलमा खटिएका थिए। घाइते पाँचजनामध्ये तीनजनालाई गम्भीर अवस्थामा स्थानीय ट्रमा सेन्टरमा तथा अन्य दुईजनालाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
दुर्घटनापछि विमानस्थल क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनलाई तीव्र पारिएको थियो। दुर्घटनाको कारणबारे तत्काल स्पष्ट विवरण सार्वजनिक भएको छैन। सम्बन्धित निकायले घटनाको अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
अमेजनकी प्रवक्ता केली नान्टेलले विज्ञप्तिमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले मृतकका परिवार तथा दुर्घटनाबाट प्रभावित सबैप्रति अमेजनका तर्फबाट समवेदना व्यक्त गर्दै घटनाबाट प्रभावितहरूप्रति चिन्ता व्यक्त गरेकी छन्।
अवतरणका क्रममा भएको यो दुर्घटनाले विमानस्थलको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारण र विमान रनवेबाट किन अनियन्त्रित रूपमा बाहिरियो भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया