logo

२०८३ भाद्र ८ सोमबार

logo
  • २०८३ भाद्र ८ सोमबार
  • देउवा फर्किए, गगनले बैठकमै गरे स्वागत : कांग्रेसमा संवाद र सहकार्यको संकेत

    820Shares
    देउवा फर्किए, गगनले बैठकमै गरे स्वागत : कांग्रेसमा संवाद र सहकार्यको संकेत

    काठमाडौं । करिब साढे पाँच महिनापछि नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीभित्र संवाद र सहकार्यको सम्भावनाबारे नयाँ संकेत देखिएको छ। देउवा काठमाडौं फर्किएको दिन नै कांग्रेस सभापति गगनकुमार थापाले केन्द्रीय समिति बैठकबाट उनको स्वागत गरेका छन्।

    केन्द्रीय समिति बैठकको सुरुआत गर्दै सभापति थापाले देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा स्वागत गरेका हुन्। थापाले भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु।’

    लामो विदेश बसाइपछि बिहीबार काठमाडौं फर्किएका देउवाले विमानस्थलबाट बाहिरिएलगत्तै पार्टीभित्र एकताको आवश्यकता औँल्याएका थिए। उनले कांग्रेसमा देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने भन्दै सबैलाई सामूहिक भावनाका साथ अघि बढ्न आह्वान गरेका छन्।

    देउवाको यो सन्देश र सभापति थापाको औपचारिक स्वागतलाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक परिस्थितिमा अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्लो समय नेतृत्व र पार्टी सञ्चालनका विषयमा देखिएका मतभेदबीच देउवाको स्वदेश फिर्ती भएको हो।

    देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय हुन स्वदेश फर्किएको बताएका छन्। कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने र अन्य राजनीतिक दलसँग समेत सहमति तथा सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

    उनले पार्टीभित्रको असहमति लामो समयसम्म कायम रहन नहुने धारणा राख्दै कांग्रेसले जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्। मुलुकको ‘मियो दल’ कांग्रेसभित्र विवाद हुँदा राष्ट्रियता कमजोर हुनसक्ने भन्दै उनले नेता–कार्यकर्ता तथा समर्थकलाई सामूहिकता र त्यागको भावनाबाट अघि बढ्न आग्रह गरेका छन्।

    यता, देउवा फर्किएको दिन सभापति थापाले बैठकमै स्वागत गरेपछि कांग्रेसभित्र अब संवादको वातावरण कसरी अघि बढ्छ भन्ने चासो बढेको छ। देउवाको एकताको आह्वान र थापाको स्वागतबीच पार्टीभित्रका असहमति समाधान गर्न नेतृत्वले कस्तो पहल गर्छ भन्ने विषय आगामी दिनमा महत्वपूर्ण बन्ने देखिन्छ।

    यस अर्थमा देउवाको स्वदेश फिर्ती केवल लामो विदेश बसाइपछिको आगमनमा सीमित छैन। उनको ‘एकता’ को सन्देश र वर्तमान नेतृत्वबाट आएको स्वागतले कांग्रेसभित्र संवाद र सहकार्यको नयाँ बाटो खुल्ने सम्भावनालाई पनि संकेत गरेको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट