काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकामा कारभित्र जलेको अवस्थामा मृत फेला परेकी ४५ वर्षीया रश्मी रिजालले आत्मदाह गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ। सीसीटीभी फुटेजको विश्लेषणका आधारमा उनले आफैंले चलाएर ल्याएको विद्युतीय कार पार्क गरी गाडीभित्रै आगो लगाएको देखिएको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–९, शुभकामना चोक निवासी रिजालको शव तारकेश्वरस्थित साङ्गलाखोला–पटापु क्षेत्रमा रहेको बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको कारभित्र जलेको अवस्थामा फेला परेको थियो। उनी अघिल्लो दिन बिहानदेखि परिवारको सम्पर्कविहीन रहेको बताइएको छ।
घटनापछि प्रहरीले आसपासका सीसीटीभी फुटेज संकलन गरी विश्लेषण गर्दा रिजाल आफैंले कार चलाएर उक्त स्थानमा पुगेको र पार्किङ गरेपछि गाडीभित्रै आगो लगाएको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।
रिजालको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। पोस्टमार्टम प्रतिवेदन र फरेन्सिक परीक्षणपछि घटनाको थप तथ्य खुल्ने प्रहरीको भनाइ छ।
पारिवारिक स्रोतका अनुसार रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ताका रूपमा कार्यरत थिइन्। केही समययता उनी कार्यस्थलमा मानसिक तनावमा रहेको बुझिएको भए पनि त्यसको कारणबारे प्रहरीले औपचारिक रूपमा केही जनाएको छैन।
उनका श्रीमान् नेपालटारस्थित ग्रामीण आदर्श क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता विषयका अध्यापक रहेका छन्। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षको अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया