logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • यौनिक तथा लैगिक अल्पसङ्ख्यकलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च

    यौनिक तथा लैगिक अल्पसङ्ख्यकलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च

    377
    SHARES
    यौनिक तथा लैगिक अल्पसङ्ख्यकलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च

    नवलपुर। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च हुने गरेको सरोकारवालाहरूले जनाएका छन् ।आज आयोजित नेपाल प्रहरीसँगको सचेतना बैठकमा सरोकारवालाहरूले यौनिक अल्पसङ्ख्यकहरू यौन व्यवसायमा संलग्न हुनुपर्ने बाध्यताका कारण एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको बताएका हुन् ।



    कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारकर्मी भूमिका श्रेष्ठले यौनिक अल्पसङ्ख्यकलाई रोजगारीमा समस्या हुने गरेको बताए। ‘यो समुदायका मानिसलाई सरकारी तथा निजी क्षेत्रमा काम गर्ने अवसर दिइँदैन, बाध्य भएर उनीहरु यौन व्यवसायमा संलग्न हुने गरेका छन्,’ उनले भने, ‘अन्तरलिङ्गीहरुमा एचआइभी सङ्क्रमणको दर छ दशमलव तीन प्रतिशत छभने समग्र यौनिक अल्पसङ्ख्यक समुदायमा एचआइभी सङ्क्रमण दर ११ दशमलव पाँच प्रतिशत रहेको छ ।’ नागरिकतामा अन्य समुदायको भनेर पहिचान खुलाइने कारण पनि यो समुदायलाई रोजगारीको अवसर प्रदान नगरिएको श्रेष्ठको भनाइ छ ।

    संविधानले आफूहरूको अधिकार स्थापित गरेको भए पनि व्यवहारमा त्यो लागू हुन नसक्दा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू समस्यामा परेका उनले बताए। समुदायले गर्ने व्यवहार, सार्वजनिक स्थानमा हुने दुर्व्यवहार तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमैत्री शौचालय नहुँदा आफूहरूमा मानसिक तनाव बढ्ने उनको भनाइ छ ।

    कार्यक्रममा ब्ल्यू डाइमन्ड सोसाइटी नेपालकी कार्यकारी निर्देशक मनिषा ढकालले राष्ट्रिय जनगणना २०७८ ले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको सङ्ख्या दुई हजार नौ सय २८ मात्रै देखाए पनि यथार्थमा यो सङ्ख्या निकै ठूलो रहेको बताए ।

    ब्ल्यू डाइमन्ड सोसाइटी नेपालका कार्यक्रम संयोजक देव श्रेष्ठले आफूहरूले समुदायमा जनचेतना फैलाउन विभिन्न कार्यक्रम गर्दै आएको बताए । हिंसामा परेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई संरक्षण गर्न ‘सम्मान गृह’ स्थापना गरेर उनीहरूलाई निःशुल्क आवास, गाँस तथा औषधिउपचारको व्यवस्था गरेको श्रेष्ठले बताए ।

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एचआइभी तथा एड्सबाट जोगाउनका लागि विभिन्न कार्यक्रम, औषधिसँगै उनीहरूलाई कण्डम र लुब्रिकेन्ट वितरण गर्दै आएको श्रेष्ठले जानकारी दिए।


    फास्ट न्युज
  • शनिबार, २९ बैशाख २०८१
  • सम्बन्धित समाचार