logo

२०८३ मंसिर ११ बिहीबार

logo
  • २०८३ मंसिर ११ बिहीबार
  • रास्वपा प्रतिनिधिमण्डलको १२ दिने चीन भ्रमण सम्पन्न

    901Shares
    रास्वपा प्रतिनिधिमण्डलको १२ दिने चीन भ्रमण सम्पन्न

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गरेको १२ दिने चीन भ्रमण सम्पन्न गरेको छ। पार्टीका महामन्त्री विपिन आचार्यको नेतृत्वमा गएको टोली नोभेम्बर १५ देखि २६ सम्म चीन भ्रमण गरी आज स्वदेश फर्कन लागेको हो।

    भ्रमणमा सहभागी रास्वपाका सांसद गणेश पराजुलीका अनुसार प्रतिनिधिमण्डलले चीनका प्रमुख सहर छेन्दु, हाङझाउ र बेइजिङस्थित विभिन्न विश्वविद्यालय, औद्योगिक तथा व्यापारिक क्षेत्र र सांस्कृतिक सम्पदास्थलको अवलोकन गरेको थियो।

    टोलीले वेनचुआन पुगेर भूकम्पपछिको पुनर्निर्माण, विपद्पछि बस्ती पुनःस्थापना तथा जनजीवनलाई सामान्य अवस्थामा फर्काउन चीनले अपनाएका प्रयासबारे समेत जानकारी लिएको थियो।

    भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेई र महामन्त्री आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबीच उच्चस्तरीय राजनीतिक संवाद भएको थियो। उक्त संवादमा दुई देशबीचको सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

    त्यसैगरी, चिनियाँ निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको अन्तरक्रियामा नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने र नेपालमा चिनियाँ लगानी विस्तार गर्ने विषयले प्राथमिकता पाएको थियो।

    युवा सीप विकास, पर्यटन, उद्योग, ऊर्जा, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनका क्षेत्रमा नेपाल र चीनबीच सहकार्यका सम्भावनाबारे पनि छलफल भएको सांसद पराजुलीले जानकारी दिएका छन्।

    भ्रमणका क्रममा भएका छलफल र समझदारीलाई सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रसँगको सहकार्यमा कार्यान्वयन गरी ठोस उपलब्धिमा रूपान्तरण गर्न पहल गरिने पराजुलीले बताएका छन्।

    भ्रमण टोलीमा रास्वपाका सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापाको सहभागिता रहेको थियो।



    फास्ट न्युज    
  • २०८३ मंसिर ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट