काठमाडौं । अमेरिकामा मध्यावधि चुनाव नजिकिँदै गर्दा नक्कली चुनावी सर्वेक्षण सार्वजनिक भएको खुलासा भएपछि जनमत सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ। राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग गरेका सर्वेक्षणका तथ्याङ्क मनगढन्ते रहेको खुलेपछि अमेरिकामा विवाद चर्किएको हो।
‘वेजवुड पोल्स’ नामक संस्थाले आफ्ना अधिकांश सर्वेक्षणका तथ्याङ्क आफैंले बनाएको स्वीकार गरेको छ। संस्थाले नक्कली सर्वेक्षण कम्पनीले कसरी सार्वजनिक चर्चा पाउन र आफ्नो नतिजालाई वास्तविकजस्तै देखाएर विश्वास दिलाउन सक्छ भन्ने परीक्षण गर्न यस्तो गरेको दाबी गरेको छ। घटनापछि संस्थाको ‘एक्स’ खाता हटाइएको छ।
सर्वेक्षणसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने संस्था ‘फिफ्टीप्लसवन’ ले वेजवुडका सर्वेक्षणमाथि अनुसन्धान गर्दा यो विषय सार्वजनिक भएको हो। वेजवुडले सार्वजनिक गरेका नक्कली नतिजालाई ‘द न्युयोर्क टाइम्स’ लगायतका प्रमुख सञ्चारमाध्यमले समेत प्रकाशन गरेका थिए।
‘द न्युयोर्क टाइम्स’ का अनुसार, वेजवुडले जुनदेखि अक्टोबरसम्म सार्वजनिक गरेका १५ वटा सर्वेक्षणलाई फिफ्टीप्लसवनको सर्वेक्षणसम्बन्धी डाटाबेसमा समावेश गरिएको थियो। खुलासा भएपछि ती सबै सर्वेक्षण डाटाबेसबाट हटाइएको छ।
नक्कली सर्वेक्षणले चुनावी प्रतिस्पर्धामा समेत असर पारेको आरोप लागेको छ। मिसिगन राज्यकी सिनेट उम्मेदवार म्यालोरी म्याकमोरोले वेजवुडले जुन महिनाको अन्त्यतिर सार्वजनिक गरेको एउटा सर्वेक्षणमा आफ्नो समर्थन एकल अङ्कमा देखाइएपछि चुनावी अभियान प्रभावित भएको बताएकी छन्।
उनका अनुसार सर्वेक्षण सार्वजनिक भएपछि चुनावी चन्दा आउन रोकिएको थियो भने स्वयंसेवक निराश भएका थिए। सञ्चारमाध्यमले समेत आफूलाई प्रतिस्पर्धाबाट बाहिरिन दबाब दिएको उनको भनाइ छ। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उक्त सर्वेक्षणले आफ्नो अभियानलाई गम्भीर क्षति पुर्याएको बताएकी छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत नक्कली सर्वेक्षणलाई स्थान दिएको भन्दै ‘द न्युयोर्क टाइम्स’ को आलोचना गरेका छन्। उनले सञ्चारमाध्यमले मनगढन्ते तथ्याङ्क प्रयोग गरेको आरोप लगाएका छन्।
सङ्घीय सञ्चार आयोगका अध्यक्ष ब्रेन्डन कारले चुनावी प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले तयार पारिएका नक्कली सर्वेक्षण बढिरहेको बताएका छन्। उनले सञ्चारमाध्यमलाई यस्ता गतिविधिलाई प्रोत्साहन नगर्न आग्रह गरेका छन्।
यसअघि अगस्टमा ‘मेडियन स्ट्र्याटेजीज’ नामक अर्को संस्थाले पनि सर्वेक्षणका नतिजा बनावटी भएको स्वीकार गरेको थियो। त्यस्तै, अनुसन्धानपछि फिफ्टीप्लसवनले ‘सोकेल स्ट्र्याटेजीज’ नामक अर्को संस्थासँग तथ्याङ्क सङ्कलनको काम बन्द गर्ने जनाएको छ।
विशेषज्ञहरूका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासले नक्कली सर्वेक्षण तयार पार्न र त्यसलाई वास्तविकजस्तै प्रस्तुत गर्न सहज बनाएको छ। अमेरिकन एसोसिएसन फर पब्लिक ओपिनियन रिसर्चले पनि बनावटी तथ्याङ्क तथा संस्थागत विवरण पहिचान गर्न कठिन हुँदै गएको जनाएको छ।
संस्थाकी अध्यक्ष मेरी लोशले यस्ता जालसाजीले जनमत र चुनावी सर्वेक्षणप्रतिको विश्वास कमजोर पार्न सक्ने चेतावनी दिएकी छन्। यद्यपि, उनले नक्कली सर्वेक्षणका घटनालाई वैध र विधिसम्मत रूपमा सञ्चालन गरिएका चुनावी सर्वेक्षणसँग एउटै रूपमा हेर्न नहुनेमा जोड दिएकी छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया