logo

२०८३ कार्तिक २१ शुक्रबार

logo
  • २०८३ कार्तिक २१ शुक्रबार
  • सानेपामा ‘भ्रष्टाचाररहित कांग्रेस’ कि ‘भ्रष्टाचारी चोख्याउने अखडा’?-भूपेन्द्र राई, महामन्त्री

    1KShares
    सानेपामा ‘भ्रष्टाचाररहित कांग्रेस’ कि ‘भ्रष्टाचारी चोख्याउने अखडा’?-भूपेन्द्र राई, महामन्त्री

    काठमाडौं । नेपाली कांग्रेसमा गगन थापा समूहले विगतमा शेरबहादुर देउवा पक्षलाई ‘भ्रष्टहरुको अखडा’ भन्दै तीव्र आलोचना गर्दै आएको थियो। तर अहिले परिस्थिति बदलिएको देखिन्छ। हिजो गगन थापा र उनको समूहले गन्हाएको र भ्रष्ट भन्दै सत्तोसराप गरेका भनिएका नेताहरूकै भीड यतिखेर सानेपामा देखिन थालेपछि कांग्रेसभित्रै त्यसको चर्चा र आलोचना सुरु भएको छ।

    यही दृश्यलाई लिएर कोशी प्रदेशका महामन्त्री तथा पूर्वमन्त्री भूपेन्द्र राईले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले गगन थापा नेतृत्वतर्फ संकेत गर्दै प्रश्न गरेका छन्, ‘तपाईंहरूले सानेपालाई भ्रष्टाचाररहित कांग्रेस बनाउन खोजेको कि भ्रष्टाचारी चोख्याउने अखडा?’

    राईले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, ‘म चुनदेवीदेखि सानेपा तीर जानुभएका नेताहरूलाई अत्यन्त सम्मान गर्छु र गर्छु। तपाईंहरू मेरो नजरमा हिजो पनि प्रष्ट हुनुहुन्थ्यो र आज पनि। विशेष महाधिवेशनको नेतृत्वले तपाईंहरूलाई खुल्याउनसम्म खुल्याउनु भयो। आज खुइलिएकै तपाईंहरूको शरीरमा उहाँ मलम लगाइदिँदै हुनुहुन्छ, त्यो पनि ठीकै छ।’

    उनले अगाडि लेखेका छन्, ‘आफूतीर लागे प्रष्ट र सफा, अर्कोतिर लागे भ्रष्ट र फोहोरी ! तपाईंले हिजो भन्नुभएको भ्रष्टहरूले तपाईंले आयोजना गर्नुभएको वडा अधिवेशनमा भाग लिनु भइसकेपछि अब प्रष्ट र सफा भइसक्नु भयो ? तपाईंले गलत बोल्नु भयो कि उहाँहरूलाई चोख्याउनु भयो ?

    राईको यो टिप्पणी त्यतिबेला आएको हो, जतिबेला हिजो गगन थापा समूहबाट विभिन्न आरोप र प्रश्न उठाइएका नेताहरू सानेपामा देखिन थालेका छन्। विशेष महाधिवेशनअघि गगन थापा पक्षले शेरबहादुर देउवा पक्षका नेताहरूलाई लक्षित गर्दै भ्रष्टाचार, अनियमितता र राजनीतिक विचलनका विषय उठाउँदै आएको थियो। अहिले भने तिनैमध्ये कतिपय नेताहरू गगन थापा नेतृत्वको कांग्रेसमा देखिन थालेपछि विगतका आरोप र वर्तमान राजनीतिक व्यवहारबीचको अन्तरलाई लिएर प्रश्न उठ्न थालेको हो।

    त्यसो त गगन थापा समूहले हिजो आरोप लगाएका भनिएका नेताहरूमा भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका बालकृष्ण खाण, टेरामक्स प्रकरणमा प्रश्न उठाइएका ज्ञानेन्द्रबहादुर कार्की, घडी काण्डदेखि सिरानी काण्डसम्मका विवादमा चर्चा भएका रामहरि खतिवडा, अनुशासन आयोगको संयोजक रहँदा ७१ लाख रुपैयाँसँग जोडिएको विवादमा नाम आएका तारमान गुरुङ तथा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा एनसेल प्रकरणमा प्रश्न उठाइएका नैनसिंह महरसहितका नेताहरूको नामसमेत कांग्रेसभित्र चर्चामा आउने गरेको छ।

    हिजो यिनै विषयलाई आधार बनाएर भ्रष्टाचार र अनियमितताविरुद्ध चर्को आवाज उठाउने गगन थापा नेतृत्वको कांग्रेसमा अहिले तिनै विवाद र आरोपसँग जोडिएका भनिएका नेताहरूको उपस्थिति देखिनुलाई उनका आलोचकहरूले राजनीतिक विडम्बनाका रूपमा व्याख्या गर्न थालेका छन्।

    कुरा र भाषणमा भ्रष्ट र प्रष्ट छुट्टिनुपर्छ भन्ने गगन थापा स्वयंले अहिले यस्ता नेताहरूलाई राजनीतिक रूपमा नजिक ल्याउँदै, स्वागत गर्दै र सँगै हिँडिरहेको दृश्य देखिएपछि उनका आलोचकहरू प्रश्न गरिरहेका छन्—हिजो गलत भनिएका विषयहरू आज कसरी सही भए ? हिजो प्रश्न उठाइएका व्यक्तिहरू आज कसरी स्वीकार्य भए ? र भ्रष्टाचारविरुद्धको अभियानको राजनीतिक मापदण्ड व्यक्ति र समूहअनुसार फरक हो कि एउटै ?

    गगन थापालाई टेलिभिजनका पर्दामा देखेर तथा आमसभामा उनका भाषण सुनेर समर्थक बनेका कांग्रेस कार्यकर्ताका लागि भने अहिलेको राजनीतिक दृश्यले झस्का पैदा गरेको देखिन्छ। हिजोको भाषण र आजको व्यवहारबीच देखिएको अन्तरलाई लिएर सामाजिक सञ्जालदेखि कांग्रेसको तल्लो तहसम्म प्रश्न उठ्न थालेका छन्।

    भूपेन्द्र राईको व्यंग्यात्मक टिप्पणीले पनि कांग्रेसभित्रको यही बदलिँदो राजनीतिक दृश्यलाई सतहमा ल्याइदिएको छ। विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व स्थापित भएपछि ‘नयाँ कांग्रेस’ निर्माणको दाबी गरिरहेका गगन थापासामु अब हिजो आफैंले प्रश्न उठाएका नेताहरूसँगको राजनीतिक सम्बन्ध र सहकार्यलाई कसरी व्याख्या गर्ने भन्ने प्रश्नसमेत उठेको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट