काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा आएको विनाशकारी बाढीपछि दुई साताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले बाढीका कारण आफन्त सम्पर्कविहीन भएपछि सयौँ परिवार पीडामा रहेको बताइन्। उनले यसलाई प्राकृतिक विपत्ति मात्र नभई सयौँ परिवारको जीवनसँग जोडिएको राष्ट्रिय सङ्कटका रूपमा लिनुपर्ने धारणा राखिन्।
थापाले दैलेखका प्रकाश आचार्य, नरबहादुर थापा, पवित्रा कुमारी बुढा, मोहननाथ योगी, राजेन्द्र शाही, कृष्णबहादुर चन्दलगायत दैलेख तथा कर्णाली क्षेत्रका धेरै नागरिक अझै सम्पर्कविहीन रहेको उल्लेख गरिन्।
‘अहिले प्रत्येक मिनेट महत्त्वपूर्ण छ। परिवारलाई आश्वासन मात्र होइन, परिणाम चाहिएको छ,’ उनले भनिन्।
आफ्नो गृह जिल्ला दैलेखको क्षेत्र नम्बर १ अन्तर्गत नमुना बस्तीका बादी समुदायका १० घर पहिरोका कारण विस्थापित भएको जानकारी दिँदै थापाले उनीहरूका लागि तत्काल राहत, सुरक्षित आवास र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिन्। वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका ती नागरिक अहिले पहिरोका कारण घरबारविहीन हुन पुगेको उनको भनाइ थियो।
राष्ट्रिय विपत्तिका बेला नागरिकको जीवन रक्षा गर्नु र सङ्कटमा परेका परिवारलाई राज्यको उपस्थितिको अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको थापाले बताइन्।
उनले सम्पर्कविहीन नागरिकको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई यथार्थ सूचना उपलब्ध गराउन तथा आवश्यक स्थानमा थप जनशक्ति, प्रविधि र उद्धार उपकरण परिचालन गर्न सरकारसँग आग्रह गरिन्।
‘सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो। नागरिक बाँच्नुपर्छ र बचाउनुपर्छ भन्ने नारा लिएर अगाडि बढ्नुपर्छ,’ थापाले भनिन्।
बैठकमा थापाले बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाप्रति श्रद्धासुमन व्यक्त गर्दै आफ्नो भनाइ टुङ्ग्याइन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया