धादिङ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा समेत मानवीय क्षति पुर्याएको छ। बाढीमा परेकामध्ये धादिङका विभिन्न स्थानमा ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिका–स्थित महेश दोभानमा एक महिला, गल्छीको कोल्फु खोला पुलनजिक दुई पुरुष, सिद्धलेख गाउँपालिका–७ स्थित त्रिशूली नदी किनारमा एक जना तथा बेनिघाट रोराङ गाउँपालिका–स्थित बेनिघाट बजारनजिक त्रिशूली किनारमा दुई महिलाको शव फेला परेको हो।
बाढीको तीव्र बहावसँगै रसुवाबाट बगेका मानिस तथा अन्य सामग्री त्रिशूली नदी हुँदै धादिङतर्फ पुगेका हुन्। त्रिशूली नदीको बहाव बढेपछि नदी किनारका बस्ती तथा बजार क्षेत्रमा समेत जोखिम बढेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा लगेर उपचार भइरहेको छ।
यसअघि बागमती प्रदेश प्रहरीका अनुसार रसुवाको बाढीपछि नुवाकोट र धादिङमा समेत शव भेटिन थालेका थिए भने बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको थियो।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा टोली परिचालन भएका छन्। नुवाकोट, धादिङ र चितवनतर्फ समेत उद्धार टोली परिचालन गरिएको छ।
रसुवाबाट आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत प्रभाव पारेपछि धादिङका नदी किनारका बस्तीमा जोखिम कायमै रहेको छ। प्रशासनले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र नदी आसपास अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।
यसैबीच बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन्। बाढीले प्रभावित क्षेत्रका सडक, पुल तथा अन्य संरचनामा समेत ठूलो क्षति पुर्याएकाले उद्धार कार्यमा चुनौती देखिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया