logo

२०८३ भाद्र ७ आईतवार

logo
  • २०८३ भाद्र ७ आईतवार
  • कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    736Shares
    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका छन् ।

    ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको बताए ।

    लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू कमजोर बन्दै गएको उल्लेख गर्दै उनले साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिको दबाब र हस्तक्षेप बढिरहेको दाबी गरे ।

    उनले विचार मिल्ने शक्तिहरूबीच पार्टी एकता, निश्चित विचार र मुद्दामा सहमति राख्ने शक्तिहरूबीच सहकार्य तथा विगतमा शान्ति, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गरेका शक्तिहरूबीच मोर्चा निर्माण आवश्यक रहेको बताए ।

    प्रचण्डले आफूहरू कुनै न कुनै समयमा एउटै पार्टीका सहयोद्धा रहेको स्मरण गर्दै वर्तमान परिस्थितिले सबैलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको बताए ।

    कम्युनिस्ट आन्दोलन कुनै समय उर्वर रूपमा अगाडि बढे पनि अहिले रक्षात्मक अवस्थामा पुग्नुका साथै ठूलो संकटमा पर्नुको कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो । इतिहास, वर्ग संघर्ष र राजनीतिक संघर्षले कम्युनिस्ट शक्तिहरूलाई आफ्ना कमजोरी पहिचान गर्ने ठाउँमा ल्याइपुर्‍याएको उनले बताए ।

    गत भदौ २३ र २४ गतेको विध्वंसात्मक घटनाले प्रतिक्रान्तिको भयावह अवस्था देखाएको उल्लेख गर्दै प्रचण्डले त्यसबाट समेत पाठ सिकेर कम्युनिस्टहरूले विगतका गम्भीर त्रुटिको समीक्षा गर्नुपर्ने बताए ।

    नेपाली जनताले कम्युनिस्ट पार्टीलाई पटक–पटक विश्वास गर्दै ठूलो त्याग र बलिदानमा साथ दिएको तथा निर्वाचनमा समेत अत्यधिक मत दिएको स्मरण गर्दै उनले त्यति ठूलो जनसमर्थनका बाबजुद कम्युनिस्ट आन्दोलन र त्यसबाट प्राप्त उपलब्धि जोगाउन नसक्नु गम्भीर प्रश्न भएको बताए ।

    प्रचण्डले कम्युनिस्ट नेता तथा कार्यकर्ताले विगतका कमजोरीको गम्भीर आत्मसमीक्षा गर्दै मुख्य त्रुटि कहाँ भयो भन्ने निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । त्यसो गर्न नसके कम्युनिस्ट शक्तिहरूबीच एकता हासिल गर्न र भएको एकतालाई दिगो बनाउन कठिन हुने उनको भनाइ थियो ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट