काठमाडौं । भारतले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई औपचारिक रूपमा भारत भ्रमणको निमन्त्रणा दिएको पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भ्रमणको निमन्त्रणा पठाइसकिएको जानकारी दिएसँगै लामो समयदेखि चर्चामा रहेको भ्रमणले फेरि राजनीतिक महत्व पाएको छ।
यद्यपि भ्रमणको मिति, एजेन्डा वा निमन्त्रणा कहिले पठाइएको हो भन्नेबारे भारतीय पक्षले खुलाएको छैन। पत्रकार सम्मेलनमा नेपालका केही उच्च अधिकारीको हालैको भारत भ्रमण प्रधानमन्त्रीको सम्भावित भ्रमणको तयारीसँग सम्बन्धित हो कि भन्ने प्रश्नमा जैसवालले त्यसबारे आफू जानकार नरहेको बताए। तर प्रधानमन्त्री शाहलाई निमन्त्रणा पठाइसकिएको भने स्पष्ट गरे।
प्रधानमन्त्रीको भारत भ्रमण पछिल्ला केही महिनादेखि निरन्तर चर्चामा रहँदै आएको विषय हो। नेपालमा नयाँ सरकार गठन भएपछि भारत भ्रमण पहिलो औपचारिक द्विपक्षीय भ्रमण हुने अपेक्षा गरिएको थियो। तर भ्रमणको मिति पटक–पटक चर्चामा आए पनि अहिलेसम्म औपचारिक घोषणा हुन सकेको थिएन।
यसअघि नेपालका परराष्ट्र मन्त्रालयका अधिकारी र दुवै देशका कूटनीतिक संयन्त्रबीच उच्चस्तरीय भ्रमणको तयारीबारे छलफल भएका समाचार सार्वजनिक भएका थिए। भारतीय विदेश सचिव तथा अन्य उच्च अधिकारीहरूसँगको नियमित संवादलाई पनि प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणको तयारीका रूपमा हेरिएको थियो। तर दुवै सरकारले औपचारिक रूपमा भ्रमणको तालिका सार्वजनिक गरेका थिएनन्।
नेपाल र भारतबीच ऊर्जा व्यापार, सीमा व्यवस्थापन, व्यापार तथा पारवहन, रेल तथा सडक पूर्वाधार, जलस्रोत, प्रसारण लाइन विस्तार र लगानी सहकार्यजस्ता विषय अहिले द्विपक्षीय सम्बन्धका प्रमुख एजेन्डा बनेका छन्। त्यसैले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणलाई यी विषयमा नयाँ राजनीतिक सहमति र सम्बन्धलाई थप गति दिने अवसरका रूपमा पनि हेरिएको छ।
विशेषगरी पछिल्लो समय नेपाल–भारत सम्बन्धलाई उच्च राजनीतिक तहबाट निरन्तरता दिने प्रयास भइरहेका बेला भारतीय विदेश मन्त्रालयबाट आएको यो औपचारिक पुष्टि अर्थपूर्ण मानिएको छ। अब दुवै देशको कूटनीतिक तयारी पूरा भएपछि भ्रमणको मिति सार्वजनिक हुने अपेक्षा गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया